टेन्टमा इजलास स्थापना, विराटनगरमा न्यायिक समितिद्वारा ११ मुद्दाको सुनुवाई खुल्ला ठाउँमा

<span class='c1'>टेन्टमा इजलास स्थापना, विराटनगरमा न्यायिक समितिद्वारा</span> <span class='c2'>११ मुद्दाको सुनुवाई खुल्ला ठाउँमा</span>

विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवन आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एकअर्ब बराबरको क्षति पुग्यो । भौतिक संरचना र जिन्सी जल्दा आर्थिक क्षति भयो भने कागजात जल्दा प्रशासनिक क्षतिको कुनै मानक नै बनेको छैन । अहिलेसम्म महानगरपालिकामा दैनिक कार्य सम्पादन लयमा फर्कन सकेको छैन । घरनक्सा शाखा कागजातविहीन हुँदा लयमा फर्कन हम्बे परिरहेको छ । शहरी विकास तथा पूर्वाधार महाशाखाले पनि बहुवर्षे ठेक्का प्रणाली र भुक्तानी दिन बाँकी रहेका योजनाको कागजात जुटाउन समस्या परिरहेको गुनासो कर्मचारी गर्दछन् ।

तर, महानगरपालिकामा आगजनी हुँदा स्थानीय न्यायिक समितिको इजलास समेत जलेर ध्वस्त भयो । प्रशासनिक भवनको तेस्रो तलाको न्यायिक इजलास जलेपछि विकल्पमा टेन्टमा सारियो ।
टेन्टमा स्थापना गरिएको न्यायिक समिति, इजलास र कानुन शाखाबाट समेत नागरिकका मुद्दा मामिला र गुनासो सुनुवाईले भने निरन्तरता पायो । गत भदौ २४ गतेपछि विराटनगर महानगरपालिकामा न्यायिक समितिमा जम्मा २६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ११ वटा मुद्दा टेन्टको कार्यालयमै दर्ता भएका थिए । महानगरपालिका कानुन शाखाको तथ्यांक अनुसार जसमा पाँचवटाको सुनुवाई टेन्टकै इजलासमा भएको थियो । भदौ २४ गतेयता २७ वटा मुद्दा फस्र्यौट गरिएको छन्, जसमा टेन्टमा स्थापीत इजलासले समेत १० मुद्दा फस्र्यौट गरेको थियो ।

विराटनगर महानगरपालिकाले अहिले आगजनीबाट सुरक्षित रहेको पुरानो भवनमा कार्यालयसहित कानुन शाखा सरेको छ । अहिले पनि न्यायिक समिति र इजलास कानुन शाखा रहेको कार्यकक्षमै गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । अहिले इजलास भवनमा सरेको छ तर, पहिला जस्तो छुट्टै नभइ शाखाको कार्यकक्षमा छ । कानुन शाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा जम्मा मुद्दा संख्या १२५ रहेका छन् । जसमा नयाँ दर्ता भएका ७५ र दायित्व सरेर आएका ५० हुन् । चालु आर्थिक वर्षको चौमासिक प्रगति प्रतिवेदन अनुसार मिलापत्रबाट १२ वटा र निर्णयबाट ४२ मुद्दा गरी ५४ वटा को फस्र्यौट गरिएको छ । चौमासिक प्रतिवेदन अनुसार अब ७१ मुद्दा बाँकी रहेका छन् ।

असहजताकाबीच समेत टेन्टमा न्यायिक समिति र इजलास स्थापना गरेर न्यायिक निरुपण सेवालाई निरन्तरता दिन सफल भएकोमा उपप्रमुख कार्कीले खुशी व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार चालु आर्थिक वर्षमा ४३ दशमलव २ प्रतिशत मुद्दा फस्र्यौट भइसकेको छ । प्रशासनिक रुपमा आपत परेपनि नागरिकका गुनासो स्थानीय सरकारसँग केन्द्रीत भइरहने बुझाईबाट इजलास स्थापना गरिएकोले प्रगति हाँसिल गर्न सकेको उहाँको भनाई छ । ‘भवन जलेपनि दैनिक कार्य गर्न मन जलाउनु हुन्नथ्यो भन्ने लागेर इजलास टेन्टमा खडा गरेर निरन्तर उजुरी लिने र इजलासबाट सुनवाई गर्ने काम गरेका हौं’ उपप्रमुख कार्कीले भन्नुभयो–तर, गोपनियता नहुने, सबैले इजलास चलिरहेको ठाउँमा जानु हुन्न भन्ने पनि नबुझ्ने समस्या देखिएको थियो । यद्यपी यी यस्ता कतिपय कुरासँग झन्झट मान्नुभन्दा आफ्नो काममा लाग्नु उचित हुने ठानेर काम गरेको उहाँको भनाई छ ।

आफ्नो क्षेत्राधिकारमा भएका कामहरुलाई बढाउन टेन्टमै शाखाहरु खोलेको कार्कीको भनाई छ । उहाँका अनुसार राजस्व महाशाखा, कानुन शाखा, सामाजिक विकास महाशाखालाई टेन्टमा स्थापना गरेर काम निरन्तर गरिएको थियो । पूर्वाधारतर्फको अनुगमनका काम समेत तिहारपछि गरेर जाँचपास गर्ने र भुक्तानी दिने प्रक्रिया थालिएको उहाँले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनमा महानगरपालिकाका आगलागी हुँदा २३ करोड ३७ लाख ५८ हजार २३४ रुपिँया भौतिक क्षति भएको छ । जसमा महानगरपालिकाको प्रशासनिक भवनदेखि वडा नम्बर १ देखि १२ नम्बर र १९ नम्बर वडाको भवन समेत पर्दछ । जिन्सी सामाग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कप्यूटर, फर्निचर, मसलन्द समेत गरेर ७५ करोड २५ लाख ६३ हजार ४८५ को क्षति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्