विराटनगर । खुल्ला सीमा क्षेत्रबाट भइरहेको चोरी पैठारी र निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा टोली परिचालन गरेको छ । कोशी प्रदेशका प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ र काकडभिट्टाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीको टोलि फिल्डमै रहेको छ ।
सशस्त्र प्रहरी बेल बराहबाहिनी पकली सुनसरीका बाहिनीपति प्रहरी नायव महानिरीक्षक (डिआईजी) कुमार न्यौपानेका अनुसार एसएसपीको कमाण्ड टोलिले कोशी प्रदेशका दुई प्रस्तावित गुल्म हेर्ने भनिएपनि चार जिल्लाका नाकाको समेत निरीक्षण गर्ने काम गरिरहेको छ । तर, खुल्ला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा भने भन्सार आफैं उदासिन रहेको डिआईजी न्यौपानेको भनाई छ ।
डिआईजी न्यौपानेले भन्सार परिसरबाटै चोरी पैठारी भइरहेको कुरा समेत प्रविधिको पहुँचमा बसेर ध्यान नदिएकोप्रति शंका गरेका छन् । त्यति मात्रै नभई भन्सार राजस्व गस्तीका लागि खटिने टोलिले समेत सशस्त्र प्रहरीसँग समन्वय नगर्ने नगरेको आरोप उनले लगाएका छन् ।
विराटनगर भन्सार कार्यालयका कर्मचारीदेखि भन्सार प्रमुख समेत एजेन्टले गरिरहेको भन्सार छली र तस्करीमा मौन देखिएका उदाहरणहरु समेत बाहिर आइरहेका छन् । डिआईजी न्यौपानेको आशंकालाई पुष्टि हुने गरी गत कार्तिक १७ गते कुन्दन मण्डलले भन्सार परिसरमै सामान बाहिर राखेर गरेको जाँचपासबाट कार्य गरेका थिए । जुन सूचनाका आधारमा उनको एउटा ट्याक्टर बाहिर सशस्त्रको नियन्त्रणमा पर्दा अर्को ट्याक्टर भन्सार कार्यालय भित्रै रहेको थियो । त्यसमा समेत बदनियत रहेको आशंका गरिएको छ । ट्याक्टर बाहिर आउँदा सशस्त्रको नियन्त्रणमा पर्ने थियो तर भन्सारका कर्मचारीले जाँचपास गरिसकेको ट्याक्टर त्यहि भित्र रोक्न मद्दत गरेर संरक्षण गरेका थिए ।
डिआईजी न्यौपानेले खुल्ला सीमा क्षेत्रबाट हुने चोरी निकासी र पैठारी न्यूनीकरणका लागि मात्रै नभई अन्य सुरक्षाको विषय, सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्टको अवस्थाका बारेमा एसएसपीको टोलिले जानकारी राख्ने बताए । केन्द्रीय कमाण्ड अन्तर्गत रहेको यो टोलिले खुल्ला सीमा क्षेत्रबाट हुने चोरी पैठारी निकासीमा जिम्मेवारीमा खटिएका सशस्त्र प्रहरीको मिलेमतो रहेको नहरेको यकिन गर्नेछ । यदि मिलेमतोमा भएको पाइएमा तत्काल कारवाही सिफारिस हुनेछ । डिआईजी न्यौपानेका अनुसार चोरी पैठारी र निकासी न्यूनीकरण, सीमा सुरक्षा, लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाहमा थप प्रभावकारी बनाउन लागिएको हो ।
त्यसका लागि केन्द्रको टोलिले बोक्ने नम्बर समेत प्रहरीले सर्वसाधारणको सूचनाका लागि उपलब्ध गराएको छ । कोशीका लागि सीमा नाका निगरानीमा एसएसपी सुवेदी (९८५१००१९४२) मा फोन गरेर सुचना दिनसक्ने सुविधा समेत रहेको छ । कोशीमा सशस्त्रका १० वटा प्रस्तावित सीमा सुरक्षा गुल्म रहेका छन भने ४८ वटा बोर्डर आउट पोष्ट रहेका छन् । डिआईजी न्यौपानेले सशस्त्रलाई तस्करको सामान नियन्त्रणमा लिएपनि कारवाही गर्ने अधिकार नहुँदा भन्सार र राजस्व अनुसन्धानले जे गर्छ त्यहि हेरेर बस्नुपर्ने बाध्यता रहेको पनि सुनाए ।