विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित पुरानो गुद्री बजार क्षेत्रमा गत सोमबार नेपाली कम्यूनिष्ट पार्टीले सभा आयोजना गरियो । सभास्थल तोकेपछि त्यहाँको फोहोर आफैं संकलन गरेर सफा बनायो । त्यसपछि सभा सकेपछि पुनः सरसफाई गरेर विराटनगर महानगरपालिकाको सरसफाई शाखा प्रमुख पुनम दाहाललाई अनुगमनमा बोलायो । शाखा प्रमुख दाहालका अनुसार नेपाली कम्यूनिष्ट पार्टी माओवादीले सभागर्ने भनेर सुरु अनुमतिदेखि सभा गरिसकेपछि सरसफाई अनुगमन गराउनेसम्ममा राम्रो समन्वय गरेको थियो ।
त्यो कार्यलाई महानगरपालिकाले अब निरन्तरता दिदैं महानगर क्षेत्रका खुल्ला चौर, बाटो, सार्वजनिक तथा निजी जमिनमा मेला, सांस्कृतिक, सामाजिक, निजी कार्यक्रम तथा राजनीतिक सभा–समारोह गर्दा अनुमति लिनुपर्ने नियम नै लागु गरेको छ । जसले फोहोर व्यवस्थापन गर्नका लागि सहज हुने दावी गरिएको छ ।
महानगरको सम्पर्क व्यवस्थापन शाखाले सूचना नै जारी गरेर कार्यक्रमहरूका कारण फोहोर र अव्यवस्था बढिरहेकोले त्यसलाई व्यवस्थापन गर्न पूर्व अनुमति लिन भनेको हो । अबदेखि कुनै पनि सार्वजनिक तथा निजी स्थानमा कार्यक्रम सञ्चालन गर्दा स्वीकृति लिनुपर्ने मात्रै नभई कार्यक्रम पश्चात त्यहाँको अवस्था अनुगमन समेत गराउनुपर्ने व्यवस्था लागू गरिएको हो।फोहोरमैला व्यवस्थापन योजना सहित स्वीकृति प्राप्त कार्यक्रम मात्रै उक्त स्थलमा आयोजना गर्न सकिने भनिएको छ ।