विराटनगर । मोरङ उद्योग व्यापार संघले आयोजना गर्दै आएको ‘विराट ट्रेड एक्स्पो २०२५’ यस वर्ष जिल्ला प्रहरी कार्यालय मोरङ छेउको खाली मैदानमा आयोजना गरिने भएको छ । एक्स्पोका लागि आन्तरिक तयारी तीव्र रूपमा अघि बढेको संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले जानकारी दिएका छन् ।
उनका अनुसार प्रदर्शनीका लागि आवश्यक पूर्वाधार निर्माण, स्टल बुकिङ, सुरक्षा व्यवस्था तथा व्यवस्थापनसम्बन्धी प्रारम्भिक कार्यहरू सुरु भईरहेको छ । व्यापार, उद्योग, प्रविधि, कृषि, स्टार्टअप र स्थानीय उत्पादनहरूको प्रभावकारी प्रदर्शनका लागि यस वर्षको एक्स्पोलाई थप आकर्षक बनाउने तयारी रहेको आयोजकले जनाएको छ ।

एक्स्पो आगामी पुष ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छ । दस दिने यो महोत्सवमा देशभरका किसान, उद्यमी, व्यावसायी, उत्पादन तथा सेवा प्रदायक संस्थाहरूको सहभागीता रहने अपेक्षा गरिएको छ । साथै अन्तर्राष्ट्रिय देशका उत्पादन वस्तुहरु पनि एक्स्पोमा प्रर्दशनीमा राखिने भएको छ । मोरङ व्यापार संघका अनुसार यस वर्षको एक्स्पोमा लाखौं दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मनोरञ्जनका विविध कार्यक्रम, सांस्कृतिक प्रस्तुति, नयाँ प्रविधि र स्थानीय उत्पादन प्रवद्र्धनमा केन्द्रित प्रदर्शनी यस वर्षका प्रमुख आकर्षण हुने जनाइएको छ । आयोजकका अनुसार, “विराट ट्रेड एक्स्पो २०२५ लाई व्यवस्थित, आधुनिक र सहभागीमैत्री बनाउन सबै तयारी तीव्र गतीमा भइरहेको छ । यसपटकको एक्स्पोले स्थानीय व्यवसाय प्रवद्र्धनसँगै कोशी प्रदेशको आर्थिक गतिविधि बढाउने विश्वास लिएको छ।”