अष्ट्रेलियाको बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु

<span class='c1'>अष्ट्रेलियाको बोन्डाइ बीचमा भएको गोलीकाण्डमा</span> <span class='c2'>कम्तीमा १५ जनाको मृत्यु</span>

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

न्यू साउथ वेल्स प्रहरीले आइतबार भएको घटनालाई आतंकवादी आक्रमणका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

गोलीकाण्ड यहूदी समुदायलाई लक्षित गरी गरिएको प्रहरीले जनाएको छ । यहूदी पर्व हानुक्काको पहिलो दिन मनाउन सयौं मानिस भेला भएको बेला आक्रमण भएको थियो ।

मृतकमध्ये एक जना होलोकस्टबाट बाँचेका वृद्ध रहेको र उनले गोली लाग्दाखेरी आफ्नी श्रीमतीलाई जोगाउने प्रयास गरेका थिए ।

प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्ति बुबा–छोरा हुन् । घटनास्थलमै ५० वर्षीय बुबाको मृत्यु भएको छ भने २४ वर्षीय छोरा गम्भीर तर स्थिर अवस्थामा अस्पतालमा उपचाररत छन् ।

५० वर्षीय व्यक्ति गन क्लबका सदस्य रहेको र उनीसँग लामो बन्दुक प्रयोगको वैध अनुमति रहेको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित भएर सिड्नीस्थित एक घरमा छापा मारिएको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको छ । मृतकमध्ये १० वर्षीया बालिका पनि रहेको पुष्टि गरिएको छ । घटनापछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले आक्रमणलाई ‘शुद्ध दुष्टता’को संज्ञा दिँदै यहूदी समुदायलाई योजनाबद्ध रूपमा लक्षित गरिएको बताएका छन् ।

ब्रिटिश मूलका रब्बी एली स्ल्याङ्गर पनि गोलीकाण्डमा ज्यान गुमाउनेमध्ये एक रहेको उनका परिवारले जनाएको छ । प्रत्यक्षदर्शीहरूले आफ्ना निकट मित्र गुमाएको र गोली चल्ने क्रम निकै लामो समयजस्तो महसुस भएको बताएका छन् ।

घटनापछि न्यू साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्सले राज्यमा बन्दुकसम्बन्धी कानून संशोधन गर्ने संकेत दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले तत्काल विवरण सार्वजनिक नगरे पनि बन्दुक कानूनमा परिवर्तन आवश्यक भएको बताए । अष्ट्रेलियामा हाल विश्वकै कडा बन्दुक कानूनमध्ये एक लागू रहेको छ ।

प्रहरी आयुक्त माल ल्याननले आक्रमणकारी ५० वर्षीय व्यक्तिले बन्दुक लाइसेन्सका सबै मापदण्ड पूरा गरेको दाबी गरे । यसैबीच, सिड्नीवासीहरू घाइते र मृतकका परिवारलाई सहयोग गर्न रक्तदान कार्यक्रमलगायत विभिन्न सहयोग गतिविधिमा सक्रिय देखिएका छन् ।

सुरक्षाका कारण घटनास्थल नजिकै रहेको बोन्डाइ बीच पब्लिक स्कूल अस्थायी रूपमा बन्द गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्