विराटनगर । आफ्नै कार्यालयमा कार्यरत पूर्व कर्मचारीको चरित्र हत्या गर्न सामाजिक सञ्जाल वाटसएपको प्रयोग गरेको आरोपमा विराटनगर–५ स्थित लोटस कन्सल्टेन्सीका सञ्चालक अरबिन्द कुमार मेहतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार मेहताले पूर्व महिला कर्मचारीका बारेमा आपत्तिजनक पोष्टहरु वाट्सएप ग्रुपमा शेयर गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान थालिएको हो ।
उनले विराटनगरमा कोठा बसेर पढ्ने एक जना महिलाका विरुद्ध साइबर क्राइम गरेको आरोप छ । ३४ वर्षीय मेहता विराटनगर–५ पुल्चोकमा बस्दै आएका थिए । पीडितले प्रहरीमा दिएको जाहेरीमा मेहताले १६१ जना संलग्न ‘लोटस बिआरटी २०८२ कोरियन स्टुडेन्ट ग्रुप’ मा आफ्ना विरुद्ध गलत कुराहरु प्रचार गरेको उल्लेख छ । प्रहरीले पाँच दिनको म्याद थपेर अनुसन्धान थालेको हो ।
घटनाको पृष्ठभूमि भने फरक छ । पीडितले दिएको जाहेरीमा खुलाइएको विवरण अनुसार मेहतासँग २०७९ पुस १४ गते चिनजान भएको थियो । २०७१ माघ १५ गतेदेखि उनी महेताको कार्यालयमा रिसेप्सनिष्टको रुपमा काम गर्न थालेकी थिइन् । पद रिसेप्सनिष्ट भएपनि काम चाँहि लेखापालको समेत लगाइएको थियो ।
सुरुमा ७ हजार ५०० तलव दिएकोमा बृद्धिगरिकन १५ हजार पु¥याइएको थियो । तर, तलव बृद्धि गरिकन उनीमाथि बारम्बार यौनशोषण गरिएको अराोप छ । ‘मेरो कमजोर आर्थिक अवस्थाका कारण काम छोड्न सकिन, कसूरदारले बारम्बार मलाई यौनशोषण गरेका थिए ।’ पीडितले जाहेरीमा भनेकी छिन् । त्यसपछि हदैभएर प्रतिकार गर्ने र प्रहरीमा जाहेरी दिने भनेपछि भने जागिर खाई दिने भनेर धम्की दिएको आरोप छ । एक्लो भएका कारण पारिबाट मान्छे झिकाएर मारिदिने समेत भन्ने गरेपछि केहि भन्न नसकेको उनले बताएकी छिन् ।
अति नै भइसकेपछि उनले उजुरी गर्ने र कामपनि छोड्ने मनस्थिति बनाएको तर मेहताका आफन्त तथा नातेदार आएर उनीमाथि हातपात गरेको उल्लेख छ । २०८१ मघ २९ गते कार्यालयमा कोहि नभएको मौकामा उनीमाथि हातपात भएको थियो । त्यसपछि ५ लाख ६८ हजार र ६ लाख ३९ हजार ६५० रुपैँयाको चेकमा हस्ताक्षर गरिदिएपछि मात्रै छोडिदिने शर्त राखेको उल्लेख छ । अफिसको रकम अपचलन गरेको आरोप मेहताले ती महिलालाई लगाएका थिए । त्यहि बहानामा आफन्त समेत बोलाएर उनीसँग जर्बरजस्ती चेक लिइएको थियो । तर, कार्यालयको रकम अपचलन गरेको उनको आरोप छ । यद्यपी चेक भने व्यक्तिका नाममा लिएको पीडितले बताएकी छिन् ।
चेक लिएपछि उनले काम छोडिन् । त्यसपछि मेहताले अदालतमा चेक अनादरको मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया बढाएका थिए । उनलाई २०८२ कार्तिक २७ गते प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको थियो । त्यसपछि २८ गते उनी ४० हजार धरौटीमा छुटेकी थिइन् । प्रहरीका अनुसार जुन अपराधबाट जोगिन उल्टै अर्को अपराधको सिर्जना भएको छ, त्यसले पीडित नै अन्यायमा परेको देखिएको छ ।
प्रहरीका अनुसार अहिले पीडित मानसिक रुपमा विक्षप्त भएकी छिन् । त्यहि बेला गत मंसिर १० गते उनले महिलाको विभिन्न टिप्पणी उल्लेख गर्दै वाटसएसमा म्यासेज गरेका थिए । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडितले बिद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २९८ बमोजिम कसूरजन्य अपराधमा कानुनी कारवाही हुनुपर्ने माग गर्दै जाहेरी दिएकी छिन् । यसैगरी शारिरीक शोषण गरेर झुटा मुद्दा समेत लगाइकन आत्माहत्या गर्ने स्थितिसम्म पु¥याएको आरोप समेत लगाइएको छ । त्यसका लागि मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ को आत्माहत्या दुरुत्साहन अन्तर्गत अनुसन्धान गर्न माग गरिएको छ ।
साथै १६१ जना भएको ग्रुपमा आफ्नो झुठा पोष्ट, फोटो र भिडियो समेत राखेकोले त्यसबाल अहिलेसम्म फैलाएका र फैल्याउन सक्ने मोवाइल, ल्यापटप, वाट्सएप, ग्यालरी, च्याट लगमा समेत नियन्त्रण गरी अनुसन्धान गर्न भनिएको छ ।