विराटनगर । विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीले मध्यरात छापा हानेर २० जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्नेमा दुईजना भने सञ्चालक नै रहेका छन् । प्रहरीले मध्यरातमा बिग होटल परिसरको च्याम्पियन क्यासिनो र रत्ना होटल परिसरको गोल्डेन क्यासिनोमा छापा हानेको हो । प्रहरीले च्याम्पियनका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र गोल्डेनका व्यवस्थापन रामकृष्ण बजगाँईलाई नेपाली प्रवेश गराएको पाइएपछि नियन्त्रणमा लिइएको छ ।
मोरङ प्रहरीका उपरीक्षक कबित कटुवालले २० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले उनीहरु विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए । नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराएर फलाँस समेत खेलाउने गरेको सूचना प्रहरीमा थियो । प्रहरीले लामो समयदेखि नेपाली प्रवेश गर्दछन् की गर्दैनन् भन्ने यकिन गरिरहेको बेला आइतबार राती छापा हानेको हो । छापा हान्ने क्रममा गोल्डेनबाट १४ जना र च्याम्पियनबाट ६ जना नेपाली समेत नियन्त्रणमा लिइएको छ ।
यद्यपी प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजानिक गर्न आनकानी गरिरहेको छ । क्यासिनोमा प्रशासनको समेत यस अगाडी मिलिभगत हुने गरेको आरोप थियो । क्यासिनाबाट आउने आम्दानीमा प्रशासनबीच बाँडीचुडी हुने गरेको आरोप यस अगाडी पनि लाग्दै आएको थियो । जिल्ला प्रहरीले निगरानी नगरेको थाहा पाए, प्रदेश प्रहरीले समेत छापा हान्ने गरेका यस अगाडीका घटना छन् । अहिले प्रहरीले नियन्त्रणमा लिएकाहरुको नाम सार्वजानिक नगर्ने भनेपनि फेरी संशय सिर्जना भएको छ । किनकी, चाडपर्वमा रमाइलोका लागि तास खेल्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर नाम सार्वजानिक गर्ने गर्दछ ।