विराटनगर । विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले आइतबार राती छापा हानेर २० जनालाई पक्राउ गरेको छ । होटल बिगको च्याम्पियन र होटल रत्नामा सञ्चालित क्यासिनोमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये प्रहरीले १७ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
क्यासिनोबाट पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्व डाइरेक्टर तेजराज गिरी पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले दुवै क्यासिनोमा एकसाथ छापा हानेको थियो ।
पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम समेत छन् । त्यस बाहेक रोशन गिरी, अनिस राज लामा, आदेश बिक, घनश्याम शर्मा, सन्तोष बस्नेत, मो. जाकिर हुसैन, विवके कुमार मण्डल, कृष्ण कुर्मी, रुपेश दाहाल, सुरज राय, प्रमोद घिमिरे, पवन गोस्वामी, साजन साह, हरि भट्टराई र सुरेन्द्र बहादुर चन्द रहेका छन् । हरि भट्टराई होटल बिगका सञ्चालक समेत हुन् ।
पक्राउ परेका मध्ये १७ जनामाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । ३ जना क्यासिनो कर्मचारीलाई थप अनुसन्धानपछि प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
विराटनगरमा लामो समयदेखि क्यासिनोमा नेपाली प्रवेश पाउँदै आएका थिए । अहिले प्रहरीले छापा हानेपछि क्यासिनोमा छिर्नेहरु तर पक्राउबाट जोगिनेहरु भने जिल्ला प्रहरी कार्यालय आसपास पुगेर कुरो बुझिरहेका छन् ।