स्वस्तिका भट्टराई
विराटनगर । विराटनगर–१२ की ६७ वर्षिया उर्मिला मण्डल लगभग ३५ वर्षदेखि भक्काको व्यवसाय गर्दै आएकी छिन् । उनका अनुसार दैनिक ३० देखी ६० जना व्यक्तिले उनले बनाएको भक्का खाने गर्दछन् । यसबाट उनको दैनिक नाफा कम्तिमा ५०० देखि एक हजारसम्म हुनेगर्छ । विराटनगर–१२ स्थित पाञ्चाली र महेन्द्र मोरङको दोभान सडकमा उनी भक्का परिकार बिक्री गरेर बस्छिन् । उनको आसपासमा दुईचार जना भक्का किनेर खाने पनि उभिएका हुन्छन् ।
‘मैले सुरू गर्दा भक्काको मुल्य रु.२ रुपिँया थियो, अहिले २० रुपिँया भएको छ ।’ मण्डलले भनिन्–मैले मेरी आमाबाट काम सिकें । कार्तिकदेखि फागुनको मध्यसम्म मात्र बिक्र हुने भक्कापछि उर्मिला त्यसपछि मकै र लिची–आँपको कारोबार गर्दछिन् । जाडो महिना सुरु भएसंगै विराटनगरका सडकका किनारमा भक्का व्यवसायी र खानेहरुको घुइँचो देखिन्छ । त्यहि घुँइचोमा भक्का खान उभिएकी प्राप्ती खड्का खाना खाएपनि भक्का देखेपछि खाऊँ लाग्ने बताउँछिन् । उनी स्वथ्यकर परिकारको रुपमा यसलाई बुझ्छिन् । त्यसैले भक्का र चटनीको स्वाद लिन्छिन् ।
भक्का, राजवंशी समुदायको पराम्परागत खाना मानिन्छ । तर, पछिल्लो समय सम्पूर्ण तराइबासि माझ निकै लोकप्रिय बनेको छ । सस्तो मूल्यमा तातो र निकै स्वस्थवर्धक खाना भाएकाले पनि यसको महत्त्व दिनप्रतिदिन बढ्दै गएको हो। मानिसहरूले मुख्यतया यसलाई नास्ताका रूपमा खाने गरेका छन् । सडकमा भक्का खाइरहेकामध्ये एकजनाले भने–‘जाडो महिनामा भक्का खानु हाम्रा लागी पराम्परा जस्तै हो।’ केहिले यसका बारेमा थाहा नभएको तर स्वादिष्ट भएकाले खाने गरेको पनि सुनाए ।
पूर्वी नेपालको झापा, मोरङ, सुनसरीका कोच राजवंशी समुदायमा भक्का प्रचलित छ । अहिले भने सबै समुदायका मानिसहरूले भक्का खाने गर्दछन् । यसको व्यापार गर्नेहरु पनि राजबंशी मात्रै छैनन् । विराटनगरकै अर्की व्यवसायी संगिता सहनी पनि महेन्द्र मोरङ क्याम्पसका अगाडी करिब ३ वर्षदेखि भक्काको व्यापार गर्दै आएकी छिन् । जाडोको समयमा मकैको सिजन नभएको र विक्री पनि कम हुने भएकाले उनी यस भक्का व्यापारलाई दैनिकी बनाउँछिन् । सामान नजिकैको बजारबाट ल्याउन सहज हुने र भक्का लोकप्रिय परिकार भएकाले पनि उनलाई यो काम गर्न प्रेरणा मिलेको हो । उनी भान्छीन् ‘विद्यालयको नजिक भएकाले विहानको समयमा धेरै विक्री हुन्छ । म विहानको २ घण्टा र बेलुकाको २ घण्टा मात्र काम गर्छु तैपनी खर्च कटाएर ५०० देखी रु. ७०० सम्म नाफा हुन्छ ।’ भक्काको सिजन सकिएपछि उनले पनि मकैको व्यापार गर्ने गरेको बताइन् ।
भक्का खाने चलन पौराणिककालदेखि हो । राजबंशी समुदायका पूर्वजहरुले माघे सङ्क्रान्तिको अघिल्लो दिन छोरीचेलीलाई घरमा बोलाएर भक्का खुवाउने चलन रहेको भनाई छ । त्यसकारण माघे सङ्क्रान्तिको अघिल्लो दिन पुस २९ गते आजकल भक्का दिवस मनाउन थालिएको छ । भक्का सनातन संस्कारसँग पनि जोडिएको छ । ‘महाभारतकालमा भीष्मपितामहले देहत्याग गर्दा मेरो शरीरमा भएका असङ्ख्य शक्ति यही पृथ्वीको प्रकृतिमा छोडेर जाँदैछु । मलाई चामलबाट चढाएको भक्का चढाइदिनु’ भनेको भन्ने किम्बदन्ती पनि छ । त्यो चढाएको भक्का जसले खान्छ, उसलाई मेरो शक्ति प्राप्त हुन्छ भन्ने मान्यता महाभारतमा रहेको भनिएका कारण यसलाई जाडोको शक्तिवद्र्धक मानेर खाइन्छ ।
चामलको पिठोबाट बनाइने भक्कालाई सुपाच्य भोजनको रूपमा लिइन्छ । माटो वा अरू कुनै भाँडोमा पानी तताएर त्यसको बाफलाई स–साना प्वाल भएको माटोको प्लेटबाट बाहिर निकालेर त्यसमा चामलको पिठो राखिन्छ र सुतीको कपडाले छोपिन्छ । सोही पानीको बाफले चामलको पिठो पाकेपछि भक्का तयार हुन्छ । भक्का सडकमा पाउने सहज परिकार पनि मानिएको छ । अर्को कुरा सडक किनारामा उभिएर भक्का खाँदा वा खाईरहँदा समेत अन्य खानेकुरा खाईरहेजस्तो वास्ता हुँदैन । किनकी यसको मान्यता पुरानो छ, यसको मूल्य सडकमा नै रहँदै आएको छ ।
प्रशिक्षार्थी