विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी ९निर्वाचन प्रहरी० भर्ना प्रक्रिया सुरु भएसँगै मोरङमा आवेदन दिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। निर्वाचनको शान्ति सुरक्षा सुनिश्चित गर्न सरकारले देशभर निर्वाचन प्रहरी भर्ना थालेको हो।
देशभर जम्मा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया पुस २५ गतेदेखि सुरु भइसकेको छ। सोहीअनुसार मोरङमा पनि भर्ना सुरु भएको पहिलो दिनदेखि नै दर्खास्त दिन आउनेको भीड अत्यधिक देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार, मोरङका लागि ४ हजार ३८३ जना निर्वाचन प्रहरीको माग रहेको छ। तर हालसम्म १ हजार ३४४ जना महिला र ३ हजार ४३७ जना पुरुष गरी कुल ४ हजार ७८१ वटा दर्खास्त फाराम प्राप्त भइसकेका छन्। पहिलो तीन दिनमै मागभन्दा बढी आवेदन परेको उनले जानकारी दिइन्।
डीएसपी चुडालका अनुसार प्रत्येक दिन हजारौको हाराहारीमा नयाँ आवेदन दर्ता भइरहेको छ। आवेदन दिनेहरूमा अधिकांश पुरुष रहेको पनि उनले बताइन्।
दर्खास्त पेश गर्ने म्याद माघ १ गतेसम्म कायम रहेको हुँदा योग्य तथा इच्छुक व्यक्तिहरूलाई तोकिएको समयभित्र आवेदन दिन अनुरोध गरिएको छ। यद्यपि आवेदन संख्या आवश्यकताभन्दा बढी भए पनि तोकिएका मापदण्ड पूरा गर्नेहरू मात्र भर्ना गरिने प्रहरीले स्पष्ट पारेको छ।
भर्ना प्रक्रियाअन्तर्गत आवेदनकर्ताको सीआरएस चेक, मेडिकल परीक्षण तथा शारीरिक दुरुस्तता परीक्षण गरिनेछ। सबै चरणमा सफल हुनेहरूले मात्र नियुक्ति पाउने डीएसपी चुडालले बताइन्।
निर्वाचन प्रहरीका रूपमा नियुक्त हुनेहरूले नेपाल सरकारले तोकेबमोजिम ४० दिनको तलब भत्ता पाउनेछन्। साथै, काम गर्ने क्रममा प्रयोग गर्न दिइने पोशाक, लाठीलगायत आवश्यक सामग्री पनि उपलब्ध गराइने जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ।