विराटनगर । लामो समयदेखि राजनीति साइनो जोड्दै व्यावसायिक जीवन बिताउँदै आएका मारवाडी समुदायका तीनजना एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवार बनेका छन् । मुख्य पार्टीहरुमा आकर्षण घट्दै गएको चर्चा चलेपनि राजनीतिमा खास रुची नहुने मारवाडी समुदायका यी उमेदवार भने पुराना पार्टीहरु काँग्रेस–एमालेबाटै उमेदवार बनेका हुन् ।
राजनीतिमा तल्लो कमिटीबाट आवद्धता जनाउँदै अहिले पार्टी केन्द्रले टिकट दिनेस्तरसम्मको विश्वास राखेका उनीहरु एकअर्कामा समेत प्रतिस्प्रर्धा गर्न तयार देखिएका छन् । उमेदवारमध्ये रंगेली नगरपालिकामा दुई कार्यकाल प्रमुख भएर काम देखाएका दिलिप बगाडिया नेकपा एमालेकोतर्फबाट क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । उनले यस अगाडी त्यस क्षेत्रबाट निर्वाचित ऋषिकेश पोखरेललाई विस्थापित गर्दै टिकट लिएर रंगेली नगरपालिकाको प्रमुखबाट विदा लिएका हुन् । मैदानमा रहेका बगडीयाले नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालसँग भिड्ने छन् । उनले स्थानीय तहको प्रमुखको रुपमा गरेका कामबाट आफूलाई प्रमाणित त गरिसकेका छन् तर संघीय संसदको निर्वाचनमा निर्वाचित हुन उनका लागि यो मात्रै पर्याप्त नहुन सक्छ ।
यसैगरी पुरानो काँग्रेस विरासत भएका फुलकुमार लालवानी मोरङ क्षेत्र नम्बर ५ बाट उमेदवार बनेका छन् । उनीसँग प्रतिस्पर्धाका लागि नेकपा एमालेले मनोज अग्रवाललाई अगाडी सारेको छ । मोरङमा ५मा यस अगाडी स्वतन्त्र उमेदवार जोगी मण्डल निर्वाचित भएका थिए । यो निर्वाचनका लागि उनीसहित नेपाली कम्यूनिष्ट पार्टीका शिवकुमार मण्डल, जनता समाजवादीका राजकुमार यादवको चर्चाका बीच दुईजना मारवाडी समुदायका उमेदवार मैदानमा रहेका हुन् ।
तर, मारवाडी समुदायबाट राजनीतिमा आएका लालवानी नेपाली कांग्रेसमा कोइराला निवाससँग सम्बन्ध रहेको परिवारमा पर्दछन् । स्वतन्त्र सेनानी भिमराज नौलखा उनका मामा हुन् । त्यहि भएर पनि लालवानीलाई विराटनगर जुटमिल्सको अध्यक्ष बन्ने अवसर यस अगाडी प्राप्त भइसकेको छ । अर्का मनोज अग्रवाल नेकपा एमालेको राजनीतिमा रंगेली क्षेत्रमा सक्रिय व्यक्ति हुन् । उनी एमालेमा प्रतिवद्ध कार्यकर्ताको रुपमा चिनिन्छन् ।