सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि निजी विद्यालयहरूको शुल्क सीमा निर्धारण गरेको छ। महानगरले तोकिएको दरभन्दा बढी शुल्क नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ।
निर्धारित शुल्कअनुसार कक्षा ५ सम्म मासिक शुल्क २,५०० देखि ३,१०० रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ३,१०० देखि ३,८०० रुपैयाँ र कक्षा ९ देखि १२ सम्म ३,८०० देखि ५,९०० रुपैयाँसम्म तोकिएको छ। साथै, परीक्षा, भर्ना, खेलकुद तथा शैक्षिक सामग्री शिर्षकमा लिइने शुल्कमा पनि सीमा निर्धारण गरिएको महानगरले जनाएको छ।
महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुगेलका अनुसार विद्यालयहरूलाई क, ख र ग गरी तीन वर्गमा विभाजन गरिएको छ। उनका अनुसार ग वर्गका विद्यालयलाई तोकिएको शुल्कको २५ प्रतिशतसम्म मात्र ख वर्गकाले लिन पाउनेछन् भने क वर्गका विद्यालयलाई अधिकतम ५० प्रतिशतसम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ। महानगरले ग वर्गको शुल्क निर्धारण गरेका छन ।
ढुगेलले नियमविपरीत शुल्क असुल्ने कुनै पनि विद्यालयलाई कारवाही गरिने स्पष्ट पारे। “कुनै पनि गुनासो प्राप्त हुनासाथ महानगरको शिक्षा शाखाले तत्काल छानबिन गरी कारवाही गर्नेछ,” उनले भने।
महानगरले अभिभावक तथा सरोकारवालालाई कुनै पनि विद्यालयले नियमविपरीत शुल्क लिएमा शिक्षा शाखामा उजुरी गर्न आग्रह समेत गरेको छ।