विराटनगर। मोरङ प्रहरीले स्रोत नखुलेको नगद रकमसहित २ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलमा विराटनगरबाट काठमाडौंतर्फ जाने यात्रुहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
शनिवार बेलुका करिब ८ बजेको समयमा बुद्ध एयरको उडानमार्फत काठमाडौंतर्फ जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८ बस्ने वर्ष ३५ का दिलीप तामाङलाई चेकजाँच गर्दा निजले बोकेको ब्यागबाट स्रोत नखुलेको नेपाली नगद रु। ११,००,००० (एघार लाख) फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन दिउँसो करिब १५:३५ बजेको समयमा श्री एयरको उडानमार्फत काठमाडौंतर्फ जान लागेका भारत, जिल्ला माल्दा सुजागञ्ज क्षेत्र बस्ने वर्ष ३४ का मोहम्मद अतिलको साथबाट रु. १५,८९,००० (पन्ध्र लाख अन्ठान्बे हजार) नगद बरामद गरिएको छ।
बरामद गरिएको कुल रु। २६,८९,००० (छब्बीस लाख अन्ठान्बे हजार) सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ।