रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ गोगनपानी सुलीथुम्कामा निर्माण गरिएको भ्यू टावर सहितका संरचनाको प्रयोग र संरक्षण नहुँदा नष्ट भएका छन् ।
वाग्मती प्रदेश सरकारले सो प्रदेशका ११ वटा जिल्लामा एक साथ ११ वटा भ्यू टावर बनाएको थियो । तिनै मध्येको खाँडादेवीको भ्यू टावर पनि एक हो । २०७७ सालमा निर्माण सम्झौता भएर ०७८ सालमा निर्माण भएको भ्यू टावर लगायतका संरचना निर्माणको लागि ३ करोड २० लाख ६० हजार ८ सय ५१ रुपैयाँ खर्च भएको थियो । भ्यू टावरसम्म पुग्ने पदमार्ग, शौचालय, प्रतीक्षालय, टिकट घर, कार्यालय भवन लगायतका संरचना निर्माण भएका थिए । यसरी बनिसकेको संरचना सञ्चालनमा नआउँदा अहिले बेवारिसे बनेको छ । त्यति ठुलो लगानीमा बेनका संरचना धेरै नष्ट भइसकेका छन् । प्रवेश गेटमा रहेको टिकट घरका झ्याल ढोका फोरिएका छन् । शौचालयका झ्याल ढोका फोर्नुका साथै धारा र बेसिनहरू समे तोडफोड गरिएको छ । त्यस्तै कार्यालय भवनका पनि झ्याल ढोकाहरू फोरिएका छन् ।
भ्यू टावरका समेत झ्याल ढोकाहरू तोडफोड गरिएको छ भने छानो उडाएर पानी चुहिने भएको छ । सबै संरचनाहरू क्रमशः खण्डहर बन्दै गएका छन् । वाग्मती सरकारको तत्कालीन उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले सो भ्यु टावर निर्माण गरेको थियो । त्यसको सञ्चालन वा हस्तान्तरण सम्बन्धी स्पष्ट कार्यविधि नहुँदा टावर सञ्चालन वा हस्तान्तरण हुन सकेको छैन ।भ्यू टावर प्रदेश सरकार आफैँले सञ्चालन गरेको पनि छैन र स्थानीय तहलाई हस्तान्तरण गरेको पनि छैन । त्यसको संरक्षणको लागि दुवै तहका सरकारले कुनै चासो दिएका छैनन् ।
प्रदेश सरकारले अलपत्र छाडेका संरचनालाई जोगाइ राख्ने स्थानीय सरकारको रूपमा रहको खाँडादेवी गाउँपालिकाले पनि कुनै चासो देखाएको छैन । गाउँपालिकाले आफ्नो भूमिमा बनेका ती संरचनालाई रेखदेख र संरक्षणको सामान्य व्यवस्था मिलाएको भए पनि प्रयोगमा नै नआई ती संरचना नष्ट भएर जाने थिएनन् । यसमा स्थानीय तहले समेत विवेक पुर्याएको छैन ।