काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट आएका योजनाहरू आवश्यक अध्ययन गरेर मात्रै बजेटमा समावेश गरिने बताए ।
उनले सरकारले अघि सारेका नीति तथा ‘वाचापत्र’मा उल्लेख गरिएका प्रतिबद्धताहरूलाई समेत आधार बनाएर बजेट तयार गरिने उल्लेख गरे । साथै, आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट समग्र नेपाल केन्द्रित हुने उनले स्पष्ट पारे।
उनका अनुसार बजेट निर्माण प्रक्रियालाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयस्तरबाटै योजना छनोट र प्राथमिकता निर्धारण गर्ने प्रणालीलाई बलियो बनाइँदैछ । उनले भने, ‘आज बजेट सम्बन्धि सांसदहरुसँग छलफल थियो । योजनाहरु सम्बन्धित मन्त्रालयबाटै एक्ससाइज भएर आउछ । वाचापत्रमा जे जे लेखिएको थियो त्यसैलाई प्रतिविम्वित गर्ने गरेर आउछ । अरु जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेछ आउछ ।’ यसैबीच छलफलमा सहभागी सांसद राजीव खत्रीले जिल्लामा स–साना योजनाका लागि बजेट माग्ने परिपाटी अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए । उनले बजेट विनियोजनलाई केन्द्र, प्रदेश र स्थानीय तहबीच स्पष्ट रूपमा छुट्याएर विकासलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
खत्रीले दुर्गम तथा पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै सांसदहरूले मन्त्रालय धाउनुपर्ने पुरानो अभ्यास अन्त्य गर्नुपर्ने धारणा राखे । उनका अनुसार अब बजेटसम्बन्धी प्रस्तावहरू लिखित रूपमा मन्त्रालयमै पठाइने र त्यसको प्राथमिकता सम्बन्धित मन्त्रालयले नै निर्धारण गर्ने व्यवस्था अघि सारिएको छ, जसले बजेट वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
‘आजको छलफलमा बजेटको लागि जिल्लामा कनिका छरे जसरी अब बजेट माग्ने परिपाटी अन्त्य गर्नुपर्छ ।विशेषगरी ठुला बजेटहरु केन्द्रले धान्न सक्ने र गर्न सक्ने बजेटहरु र प्रदेश स्थानीय तह र केन्द्रका बजेटहरुलाई विशेषगरी फरक छुट्टाउने गरी काम गर्ने भन्ने हिसावले र मन्त्रालय चहार्नुपर्ने अवस्था अन्त्य गर्नका लागि, विकासका पहुँच सबैतिर पुग्नेगरी दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सांसदहरुले धेरै ढौडधुप गर्न नपर्नेगरी कम गर्छौ भनी यही सुनाउन हो,’ उनले भने ।