विराटनगर । सुनसरीको इटहरी उपमहानगरको तरहराकी १२ वर्षीया भूमिका तिवारी यतिबेला क्यान्सर रोगसंग अस्पतालको शैयामा लडिरहेकीछिन् । गत चैत्रमा स्वास्थ्यमा समस्या देखिएपछि नेपालका विभिन्न अस्पतालमा उपचारका लागि पुगेकी तिवारीको काठमाडौंस्थित शिक्षण अस्पतालमा दुवै मृगौला र कलेजोमा समस्या देखिएको पत्ता लागेको थियो। प्रहरीका जागिरबाट निवृत्तिभरण भइसकेका उनका बुवा षडानन्द तिवारी पछिल्लोसमय सामान्य पसलबाट गुजारा चलाउँदै आएका थिए। कक्षा ६ मा अध्ययनरत परिवारको कान्छी छोरी भूमिकाको स्वास्थ्य समस्याले सबैलाई चिन्तित बनाएको थियो। छोरीको स्वास्थ्य समस्यापछि भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराउने तय गरे।
तर समस्या आर्थिक पाटोको बन्यो। नेपालमै रोग पत्ता लगाउनका लागि एक लाख रुपैया बढि खर्च भइसकेको थियो। रोग पत्ता लागेलगत्तै छोरीलाई निको बनाउन भारत पुगेका तिवारी परिवारको अहिले विचल्लीको अवस्था रहेको छ। भूमिकालाई एक्युट ल्युकेमिया अन्तर्गत बी–अल ब्लड क्यान्सर पहिचान भएसंगै दिल्लीमै उपचार जारी रहेको छ। कक्षा ६ को परिक्षा दिएकी भूमिका चाडै निको भएर विद्यालय जाने बताउने गरेको आमा पवित्रा रिजालले गहभरि आसु बनाउँदै बताउछिन् । व्हाटस एपमा आफ्नो विषयमा जानकारी गराँउदै उनले करिब एकमहिनाको बसाईमा धेरै रकम सकिएको र चिकित्सकहरुले अझ ठूलो रकम लाग्ने बताएको उल्लेख गरिन् । यतिबेला पवित्रालाई छोरी जोगाउन आर्थिक पाटो नै मुख्य कडी बनेको छ । छोरीलाई क्यान्सर भन्ने संकेत देखिएसंग स्तब्ध हुदै आएकी पवित्रा पछिल्लोसमय उपचारको लागि आर्थिक पक्ष कसरी जुटाउने सोचमा रहेकीछिन् ।
कोशी प्रदेशमा ब्लड क्यान्सरका विरामीको संख्या बढ्दै गएको विराटनगरस्थित विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ । इन्स्टिच्युटका क्लिनिकल हेमाटोलोजिष्ट एमडी मेडिसन डा। विकासकुमार साहका अनुसार पछिल्लोसमय सबै उमेर समूहका दैनिक नयाँ १५ जना विरामी उपचारका लागि इन्स्टिच्यूट पुग्ने गरेकाछन्। भारतको टाटा मेमोरियल अस्पतालबाट ४ महिना अघि विराटमा आवद्ध भएका डा। साहका अनुसार इन्स्टिच्यूटमा हाल नयाँ र उपचारमा रहेका गरि करिब १ सय बढि विरामी पुग्ने गरेकाछन् । डा। साहले भने, ‘यसले उमेर हेर्दैन । विभिन्न उमेरमा देखिन्छ । तर यसको निदानका लागि सुरुमै पहिचान गर्न सकिदाँ सहज हुन्छ । क्यान्सर भन्नेवित्तिकै आत्तिनुपर्ने अवस्था नहुन सक्छ । तर समयमै उपचार गर्नुपर्छ ।’

एकाउन्ट नं:-05910607967294000001 र 07910608088028000001(नेपाल बैंक लिमिटेड)
विराटमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट क्यान्सर लागेका विरामी उपचारका लागि पुग्ने गरेको बताएका डा। साह भारतमा उपचार गरिरहेका विरामीले लामोसमय बस्नु पर्ने अवस्थालाई न्यूनीकरण गर्न नेपालमै उपचार निरन्तरता दिन सकिने बताउँछन् । त्यसेगरि, विराटका क्यान्सर रोग परामर्शदाता कमल पौडेलपनि क्यान्सर लाग्नेवित्तिकै नआत्तिन आग्रह गर्छन। कोभिडका समय एक्युट ल्युकेमिया एएमएलबाट पीडित भएका पौडेललेपनि साहस र धर्यताका साथ आफ्नो उपचारलाई प्राथमिकतामा राखेर काम गर्दा निको भएको बताउँछन् ।