लागुऔषध सेवनकर्ताका कारण रानी बोर्डरको ३ नम्बर ढाट अस्तव्यस्त

<span class='c1'>लागुऔषध सेवनकर्ताका कारण रानी बोर्डरको</span> <span class='c2'>३ नम्बर ढाट अस्तव्यस्त</span>

प्रेम देवान
विराटनगर । विराटनगर–रानी नाकाको ३ नम्बर ढाटस्थित सिटी सफारी पार्किङ क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा अहिले सो क्षेत्र अस्तव्यस्त बनेको छ । अव्यवस्थित पार्किङ, लागुऔषध सेवन गरेर सवारी चलाउने चालक तथा ट्राफिक निगरानीको अभावका कारण यात्रु , स्थानीय व्यापारी र सिटी सफारी चालकहरू समस्यामा परेका छन् ।

स्थानीयका अनुसार जोगबनीबाट नेपाल प्रवेश गर्ने केही सिटी सफारी चालकहरूले लागुऔषध सेवन गरेर सवारी चलाउने, जथाभावी पार्किङ गर्ने तथा यात्रुरुहरूसँग दुव्र्यवहार गर्ने गरेका कारण समस्या झन् बढ्दै गएको हो । नेपालबाट जोगबनीतर्फ जाने यात्रुहरू पनि अव्यवस्थित पार्किङका कारण दैनिक सास्ती खेप्न बाध्य छन् ।

विगत १२ वर्षदेखि सिटी सफारी चलाउँदै आएका चालक दिपक मण्डलले यस क्षेत्रमा बिना लाइसेन्सका व्यक्तिहरू समेत सवारी चलाउन आउने गरेको दाबी गरे। उनले भने, “कतिपय व्यक्ति जोगवनी गएर लागुऔषध सेवन गर्छन् र त्यसपछि आएर जथाभावी पार्किङ गरिदिन्छन्। यस्ता व्यक्तिहरूमाथि नियमित लापसे (लागुऔषध परीक्षण) चेकजाँच हुनुपर्छ। लागुऔषध सेवन गरेर सवारी चलाउनेको लाइसेन्स नै खारेज गर्नुपर्छ।”

अर्का चालक सुनिलकुमार साहका अनुसार बाहिरबाट आउने तथा लागुऔषध सेवन गर्ने चालकहरूको कारण सिटी रिक्सा स्ट्यान्डमा समस्या बढेको छ। “यात्रुहरूको सामान चोरी हुने, दुव्र्यवहार हुने जस्ता घटना पनि भइरहेका छन् । कम्तीमा यो क्षेत्रमा एक जना ट्राफिक प्रहरी स्थायी रूपमा खटिनुपर्छ,” उनले भने।

चालक ढोलन सहनीले पनि लागुऔषध सेवन गर्ने चालकहरूका कारण नियम पालना गर्ने चालकहरू बदनाम भएको गुनासो गरे। उनका अनुसार केही चालकहरूले जोगवनीमा गएर लागुऔषध सेवन गर्ने, मनपरी यात्रु उठाउने तथा तोकिएको भन्दा बढी भाडा असुल्ने गरेका छन्। “हामीले यस विषयमा सीमा प्रहरी र रानी ट्राफिकलाई पटक–पटक जानकारी गराएका छौँ, तर हाम्रो गुनासोको सुनुवाइ भएको छैन,” उनले बताए ।

त्यस्तै चालक विशाल तामाङले पनि यस क्षेत्रमा लागुऔषध सेवन गरी सवारी चलाउने चालकहरूको संख्या बढ्दो रहेको दाबी गरे। उनले नियमित लापसे परीक्षणको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरे।हाल उक्त क्षेत्रको ट्राफिक व्यवस्थापन रानी ट्राफिकमार्फत हुँदै आएको छ । भर्खरै त्यसक्षेत्रमा रानी ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक प्रविन खड्काको नेतृत्वमा ६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । दुई नम्बर ढाटमा भने एक जना ट्राफिक खटाइएको छ तर ३ नम्बर ढाटमा ट्राफिक नहुँदा अहिलेको समस्या देखिएको हो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले यसअघि लापसे परीक्षण सञ्चालन गरिएको जानकारी दिए । उनले भने, “जोगवनीबाट लागुऔषध सेवन गरेर आउने चालकहरूमाथि कडाइका साथ परीक्षण गरेका थियौँ। तर लापसे परीक्षण गर्ने किट महँगो हुने र हाल मौज्दात सकिएकाले नियमित परीक्षण गर्न समस्या भएको छ। किट व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ। किट उपलब्ध हुनासाथ दैनिकजसो परीक्षण सञ्चालन गर्नेछौँ।”उनले रानी बोर्डरको ३ नम्बर ढाटमा देखिएको ट्राफिक व्यवस्थापन समस्यालाई पनि प्राथमिकताका साथ समाधान गरिने बताए। “भर्खरै नयाँ ट्राफिक प्रमुख जिम्मेवारीमा आउनुभएको छ। स्थानीय व्यापारी, सिटी सफारी चालक तथा सरोकारवालासँग समन्वय गरेर पार्किङ र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको छ,” न्यौपानेले भने।

स्थानीय तथा चालकहरूले रानी नाकाको संवेदनशील क्षेत्रमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन, अव्यवस्थित पार्किङ नियन्त्रण गर्न र लागुऔषध सेवन गरी सवारी चलाउनेमाथि नियमित निगरानी तथा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । हिजो मात्रै मोरङ प्रहरीले लागुऔषध विरुद्ध महाअभियान सुरु गरिरहँदा बोर्डर क्षेत्रमा लागुऔषधको विषयमा यसरी आवाज उठिरहँदा गम्भिर प्रस्न खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्