विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले इलाम–झापाका किसानले उत्पादन गरेको नेपाली चिया निर्यातमा भारतले गैरभन्सार अवरोध सिर्जना गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । भारतीय पक्षबाट गुणस्तर परीक्षणका नाममा लगाइएको गैरभन्सार अवरोधले नेपाली किसानलाई समस्या भएको भन्दै महासंघले यसको समाधान गर्न माग गरेको हो ।
नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहेको चिया उद्योगले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, पर्यटन आगमन, वातावरण सन्तुलन र स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विगतमा यस्ता समस्याहरू आपसी छलफल र कूटनीतिक पहलबाट समाधान हुँदै आएको भए तापनि, यसपटक लामो समयसम्म निर्यात ठप्प हुँदा महासंघ दुःखी भएको उल्लेख गरिएको छ ।
महासंघका कोशी अध्यक्ष राजेन्द्र राउतले भारतीय पक्षबाट लागू गरिएको नयाँ व्यवस्थाका कारण ठूलो परिमाणमा तयारी चिया सीमानाकामा रोकिएको जनाउँदै सरकारले तत्काल पहल लिनुपर्नेमा जोड दिनु भएको छ । यसले गर्दा उद्योगहरूमा मौज्दात बढेको, नगद प्रवाहमा गम्भीर समस्या देखिएको तथा हजारौँ किसान, श्रमिक र उद्यमीहरू प्रत्यक्ष मारमा परेको उल्लेख छ ।
तथ्यांकअनुसार नेपालका करिब १० हजार हेक्टर जग्गामा २ करोड ७४ लाख के.जी. चिया उत्पादन हुने गरेको छ भने भारतमा मात्रै वार्षिक २ करोड ५६ लाख के.जी. चिया निर्यात हुने गर्दछ । यस उद्योगमा २० हजारभन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
यस अवरोधका कारण चिया उद्योगहरू विगत ३ दिनदेखि अनिश्चितकालका लागि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । यसले चिया किसान र श्रमिकहरूलाई बेरोजगार बनाउनुका साथै समग्र क्षेत्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ ।