विराटनगर । आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीमाथि अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । उनलाई सोमबार राति नै काठमाडौं पठाउने तयारी भइरहेको छ । विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाएर गिरीलाई सीआईबीको जिम्मा लगाइने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
सीआईबीले गिरीमाथि ठगी र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाउन अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर, न्यायाधीश टंकबहादुर महतको इजालसले गिरीविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ ।
मोरङ अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि गिरीलाई थप अनुसन्धानका लागि मोरङ प्रहरीले सीआईबी पठाउन लागेको हो । सिआईबीले अपराधिक बिश्वास घात र ठगीमा पक्राउ पूर्जी प्राप्त गरेर जहाजमार्फत काठमाडौं लादैछ ।