रंगेली । मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालय मा अध्ययनरत ३०१ जना विद्यार्थीलाई लुम्बिनी विकास बैंक लिमिटेड, रंगेली शाखा ले भेस्ट वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोमबार आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत आधारभूत तहका ३०१ जना छात्र–छात्रालाई भेस्ट वितरण गरिएको हो। विद्यार्थीहरूमा विद्यालयप्रति आकर्षण बढाउने, पठनपाठनप्रति उत्साह अभिवृद्धि गर्ने तथा शैक्षिक वातावरणलाई थप प्रेरणादायी बनाउने उद्देश्यले भेस्ट वितरण गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास बैंक रंगेली शाखाका प्रबन्धक दुर्गेश रोनियार ले बैंक वित्तीय कारोबारमा मात्र सीमित नरही शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पनि निरन्तर योगदान गर्दै आएको बताए। उनले केही साताअघि सुनवर्षी नगरपालिकाको एक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको स्मरण गराउँदै आगामी दिनमा पनि समुदायको आवश्यकताअनुसार यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

विद्यालयका प्रधानाध्यापक अर्विन कुमार साह ले बैंकको सहयोगले विद्यार्थीमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै सामुदायिक विद्यालयप्रति निजी क्षेत्रको यस्तो सहकार्य अत्यन्तै प्रशंसनीय रहेको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउनुका साथै अभिभावकमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
रंगेली–६ का वडा अध्यक्ष सुजित मण्डल ले शिक्षा क्षेत्रमा बैंकले गरेको सहयोगको प्रशंसा गर्दै निजी क्षेत्रको सहभागिता अझ विस्तार हुनुपर्ने धारणा राखे। उनले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले अन्य संस्थालाई समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा मिल्ने बताए।
कार्यक्रममा बैंकका कर्मचारी सन्तोष मेहता र छविलाल पोखरेल, विद्यालयका शिक्षक धर्मध्वज पौडेल, इन्जिनियर शाखाका प्रमुख कमलेश्वर ठाकुर, स्थानीय भुपेन्द्र यादव, बुद्धिजीवी, समाजसेवी, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। सहभागी अभिभावकहरूले बैंकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
यसैबीच, शिक्षा क्षेत्रमा पुर्याएको योगदान तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गरेको भन्दै श्री पब्लिक माध्यमिक विद्यालय ले लुम्बिनी विकास बैंक लिमिटेड, रंगेली शाखा का शाखा प्रबन्धक दुर्गेश रोनियार लाई सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ।