गर्मीबाट राहत दिलाउन विराटनगरमा वाटर मिस्टिङ, ९ लाखको बढीको परियोजना

<span class='c1'>गर्मीबाट राहत दिलाउन विराटनगरमा वाटर</span> <span class='c2'>मिस्टिङ, ९ लाखको बढीको परियोजना</span>

विराटनगर । तराईको बढ्दो गर्मीबाट सर्वसाधारणलाई राहत दिलाउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाले मेनरोड क्षेत्रमा वाटर मिस्टिङ (सूक्ष्म पानीका फोहोरा) जडानको काम तीव्र रूपमा अघि बढाएको छ । विराटनगर महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी मोरङ र काली मन्दिर व्यवस्थापन समितिको त्रिपक्षीय साझेदारीमा ९ लाख ९७ हजार ४ सय ७१ रुपैयाँ लागतमा परियोजना सञ्चालन गरिएको हो। यसमध्ये महानगरपालिकाले ४ लाख ६७ हजार ४ सय ७१ रुपैयाँ तथा रेडक्रस सोसाइटी मोरङले ५ लाख ३० हजार रुपैयाँ लगानी गरेका छन् भने आवश्यक पानीको व्यवस्थापन भने काली मन्दिर व्यवस्थापन समितिले गर्ने भएको छ ।

परियोजनाअन्तर्गत ट्राफिक चोकदेखि जलजला चोक हुँदै लक्ष्मी ज्वेलर्ससम्म करिब एक किलोमिटर सडकखण्डको दुवैतर्फको पैदलमार्गमा वाटर मिस्टिङ जडान भइरहेको छ। निर्माणको जिम्मा राजधानी सप्लायर्सले लिएको छ र काम समयमै सम्पन्न गर्न रातिको समयमा समेत जडान कार्य जारी राखिएको छ। कम्पनीले सोमबार प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षणसमेत दिएको थियो। राजधानी सप्लायर्सका सञ्चालक सुमित साहका अनुसार वाटर मिस्टिङ प्रणालीले वरपरको तापक्रम ५ देखि ७ डिग्री सेल्सियससम्म घटाउन सहयोग गर्ने क्षमता राख्छ । यसबाट पैदलयात्रीले चर्को गर्मीमा हिँड्दा शीतलताको अनुभूति गर्ने अपेक्षा गरिएको छ।

विराटनगर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाकी सुशीला अधिकारीले दैनिक बढ्दो गर्मीका कारण सर्वसाधारणलाई राहत दिने उद्देश्यले तीन संस्थाको सहकार्यमा यो परियोजना सञ्चालन गरिएको बताउनुभयो । बजार क्षेत्रमा मानिसको चहलपहल बढी हुने भएकाले पहिलो चरणमा मेनरोडको व्यस्त क्षेत्रमा मात्रै प्रणाली जडान गरिएको उहाँले जानकारी दिनुभयो । स्थानीय व्यापारीहरूले पनि वाटर मिस्टिङ सञ्चालनमा आएपछि ग्राहक तथा सर्वसाधारण दुवैले गर्मीबाट केही राहत पाउने विश्वास व्यक्त गरेका छन् ।

यद्यपि जडान कार्यकै क्रममा मंगलबार दिउँसो मालवाहक ट्रकले जलजला चोक र काली मन्दिर नजिकका दुई स्थानमा पाइपमा क्षति पुर्‍याएको थियो। घटनालगत्तै ट्राफिक प्रहरीले सम्बन्धित सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा जरिवाना गरेको जनाएको छ। यसैबीच, परियोजनालाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले असार मसान्तअघि बजेट खर्च गर्न हतारमा काम गरिएको आरोप लगाएका छन् भने कतिपयले उक्त बजेट सडक र नाला निर्माणमा खर्च गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

तर विपद् व्यवस्थापन शाखाकी अधिकारी सुशीला अधिकारीले सडक, नाला तथा अन्य विकास निर्माणका कामहरू नियमित रूपमा भइरहेकाले वाटर मिस्टिङ परियोजना भने बढ्दो गर्मीबाट नगरवासीलाई राहत दिने नयाँ अवधारणाका रूपमा ल्याइएको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्