काठमाडौं । फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले सन् २०२६ को विश्वकपमा म्याच अफिसियलहरूको अखण्डता र स्वतन्त्रताको दृढताका साथ बचाउ गरेका छन् ।
प्रतियोगिताका केही निर्णयहरूलाई लिएर विवाद बढिरहेका बेला कोलिनाले रेफ्रीहरू कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका हुन् । विशेष गरी अर्जेन्टिना र इजिप्टबीचको ‘राउन्ड अफ १६’ को खेलमा भएका केही निर्णयहरूलाई लिएर विवाद उत्पन्न भएको थियो । उक्त खेलपछि फिफासँग कुरा गर्दै कोलिनाले रेफ्री टोलीको निर्णयको समर्थन गरे । उनले भने, ‘समग्रमा हामी खुसी छौँ । छोटो समयमा धेरै खेलहरू हुँदा केही कुराहरू सोचेजस्तो नहुनु सामान्य हो । तर हाम्रा रेफ्रीहरू अर्को खेलका लागि अझ कडा परिश्रम गर्न तयार छन् ।’ इजिप्ट र अर्जेन्टिनाबीचको खेलमा इजिप्टले २–० को अग्रता लिने अवसर पाएको थियो, तर भीएआरको सहयोगमा रेफ्रीले उक्त गोललाई रद्द गरिदिएका थिए । रिभ्युमा इजिप्टका मिडफिल्डर मरवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएको देखिएको थियो । यसबारे स्पष्ट पार्दै कोलिनाले भने, ‘खुट्टामा कुल्चिनु फाउल हो । यदि रेफ्रीले मैदानमा त्यो देखेनन् भने भीएआरले हस्तक्षेप गर्न सक्छ । हामीले खेलका नियमहरूलाई एकरूपताका साथ लागू गरेका छौँ ।’
कोलिनाले रेफ्रीहरूको निष्ठामा प्रश्न उठाउनु गलत भएको बताए । उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत रेफ्रीको काममा कुनै हस्तक्षेप नगर्ने दाबी गरे । ‘कसैले पनि फिफा रेफ्रीहरू प्रभावित हुन्छन् भन्न सक्दैन, फिफा अध्यक्षले समेत हामीलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न विश्वास गर्नुभएको छ,‘ उनले थपे । अमेरिकी खेलाडी फोलारिन बालोगुनको रेड कार्ड पछिको निलम्बन फिफाले फिर्ता लिएको र त्यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो राखेको भन्ने चर्चाका बीच कोलिनाले रेफ्री विभाग पूर्ण रूपमा स्वतन्त्र रहेको दोहो¥याए ।
रोमाञ्चक खेल र विवाद
इजिप्टका प्रशिक्षक होसाम हसनले फिफाले ‘फेयर प्ले’ को पालना नगरेको र अर्जेन्टिनालाई पक्षपोषण गरेको आरोप लगाएका थिए । उक्त खेलमा इजिप्ट २–० ले अगाडि रहे पनि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरो, लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पु¥याएका थिए । कोलिनाले रेफ्रीहरू विरुद्ध लगाइने आधारहीन आरोपले उनीहरू र उनीहरूको परिवारलाई मानसिक तनाव र खतरा पैदा गर्ने भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् । ४८ टोली सहभागी यस बृहत् विश्वकपमा रेफ्रीको स्तर र निष्पक्षता कायम राख्न फिफा प्रतिबद्ध रहेको उनले बताए ।