रंगेलीका–९ पार्वती मा.विका प्रधानाध्यापक सिंहले आफ्नै तलबबाट ५ लाख खर्चेर विद्यालय सुधार्दै

<span class='c1'>रंगेलीका–९ पार्वती मा.विका प्रधानाध्यापक सिंहले आफ्नै</span> <span class='c2'>तलबबाट ५ लाख खर्चेर विद्यालय सुधार्दै</span>

रंगेली । मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश सिंह ले आफ्नै तलबबाट करिब ५ लाख रुपैयाँ खर्च गरेर विद्यालयको भौतिक तथा प्रशासनिक सुधारमा उल्लेखनीय योगदान दिएका छन्।

करिब दुई वर्षअघि विद्यालयको नेतृत्व सम्हालेका सिंहले आफू जिम्मेवारीमा आउँदा विद्यालयको अवस्था अत्यन्त कमजोर रहेको बताए। उनका अनुसार भवनका झ्याल–ढोका जीर्ण थिए भने विद्यालयको खातामा जम्मा करिब ५ सय रुपैयाँ मात्र मौज्दात थियो। सीमित स्रोतसाधनका बीच विद्यालय सुधारलाई प्राथमिकतामा राख्दै उनले सरकारी बजेटको मात्र प्रतीक्षा नगरी आफ्नै तलबबाट लगानी गरेका हुन्।

उनले खर्च गरेको रकमबाट विद्यालयका झ्याल–ढोका मर्मत, आवश्यक पूर्वाधार सुधार, विद्यालय परिसर व्यवस्थित बनाउने कार्य तथा विद्यालयका विभिन्न स्थानमा १५ वटा सीसी क्यामेरा जडान गरिएको छ। क्यामेरा जडानपछि विद्यालयको सुरक्षा, अनुशासन र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन आएको शिक्षकहरूको भनाइ छ।

प्रधानाध्यापक सिंहले प्रदेश सरकार र रंगेली नगरपालिकासँग निरन्तर समन्वय गरी विद्यालयका लागि करिब १० लाख रुपैयाँ बराबरको बजेटसमेत ल्याउन सफल भएको बताए। उक्त बजेटबाट भौतिक निर्माणको काम सुरु भए पनि पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहेको उनले जानकारी दिए।

उनका अनुसार विद्यालयको खेलमैदानमा वर्षौंदेखि रहेको ठूलो खाल्डोका कारण वर्षायाममा पानी जम्ने समस्या थियो, जसले विद्यार्थीहरूको खेलकुद तथा पठनपाठन प्रभावित हुँदै आएको थियो। त्यसको समाधानका लागि समेत आवश्यक पहल गरिएको उनले बताए।

हाल विद्यालयमा करिब ४ सय विद्यार्थी अध्ययनरत छन्। अधिकांश विद्यार्थी विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारबाट आएका छन्। यद्यपि विद्यालयका केही पुराना भवन अझै जीर्ण अवस्थामा रहेका छन् भने वर्षायाममा छानाबाट पानी चुहिने समस्या कायमै रहेको शिक्षकहरूले बताएका छन्।


विद्यालयका शिक्षक अच्युत अधिकारी ले विगतमा धेरै प्रधानाध्यापकसँग काम गरे पनि विद्यालयको दीर्घकालीन सुधारका लागि आफ्नै तलबबाट व्यक्तिगत लगानी गर्ने नेतृत्व पहिलो पटक देखेको बताए। उनका अनुसार प्रधानाध्यापक सिंहको सक्रियताले शिक्षकहरूलाई समेत विद्यालयप्रति थप जिम्मेवार र उत्तरदायी बन्न प्रेरित गरेको छ।

प्रधानाध्यापक सिंहका अनुसार लामो समयदेखि विद्यालयले प्रयोग गर्दै आएको जग्गाको स्वामित्व स्पष्ट नभएको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी विद्यालयको नाममा कायम गर्न सफल भएको छ। साथै विद्यालयको नाममा अन्य स्थानमा रहेको दुई बिघा जग्गामध्ये हाल करिब १८ कट्ठा जग्गाबाट मात्र आम्दानी भइरहेको उनले बताए।

विद्यालयको पूर्वतर्फ रहेको करिब चार कट्ठा विद्यालयकै जग्गामा प्रत्येक बुधबार र शनिबार हाटबजार लाग्ने गरेको छ। हाटबजारका कारण हुने भीडभाड, ध्वनि तथा वातावरणीय प्रदूषणले विद्यार्थीहरूको नियमित पठनपाठन प्रभावित हुने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन्।

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार शाह ले चालु आर्थिक वर्षमा पार्वती माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भइसकेको र आवश्यक प्रक्रिया पूरा भएपछि निर्माण कार्य छिट्टै सुरु हुने जानकारी दिए।

पछिल्लो दुई वर्षमा विद्यालयको भौतिक वातावरण, सरसफाइ, सुरक्षा, अनुशासन र व्यवस्थापनमा उल्लेखनीय सुधार आएको स्थानीय तथा अभिभावकहरूको भनाइ छ। स्रोतसाधनको अभावबीच पनि नेतृत्व, प्रतिबद्धता, पारदर्शिता र व्यक्तिगत उत्तरदायित्व भए सामुदायिक विद्यालयमा समेत सकारात्मक परिवर्तन सम्भव हुने उदाहरण पार्वती माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्