विराटनगर । विराटनगर–१६ मा दरैया टोलमा सडक तथा कल्भर्ट निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको विषयमा विवाद उत्पन्न भएको छ । वडास्तरीय योजना अन्तर्गत बनेको कल्भर्ट तथा सडक ढलानमा कमसल निर्माण सामाग्री प्रयोग भएपछि त्यसको विरोधमा स्थानीय युवाले आवाज उठाएका हुन् ।
त्यस विषयलाई लिएर दुई पक्षबीच भएको विवाद प्रहरीमा पुगेको छ । जसमा कमसल सामाग्री लगाएको भन्दै आवाज उठाउने विरुद्ध वडा अध्यक्ष समेतको जोडबलमा अभद्र व्यवहार कसूरमा उजुरी हालिएको हो । युवाहरुले निर्माण कमसल भएको भन्दै आएको उक्त कल्भर्ट निर्माणको लागत चार लाख तथा सडक निर्माणको ८ लाख ९९ लाख ८६७ रुपैँया छ । एकै स्थानमा निर्माण गर्ने यी योजना टुक्राएर कोटेसनमार्फत काम गराइएको छ ।
विराटनगर–१६ दरैयाका दानीको घर अगाडीको कल्भर्ट र दानीको घर अगाडी पूर्वतर्फ कल्भर्टसम्म बाटो निर्माणमा कमसल इटा प्रयोग गरिएको थियो । त्यस बाहेक हिलोमा दुइवटा इटाको बेसमा रिटेर्निङवाल समेत बनाइएको थियो । हंसराज निर्माण र नवदुर्गा निर्माण सेवाले यो काम गरेको हो । कोटेसन मिलाउन अलगअलग नाम राखिएपनि निर्माणको काम गर्ने व्यक्ति भने एकैजना रहेको दावी छ ।
स्थानीय युवाहरुका अनुसार वडा अध्यक्ष उद्धव भुजेल आफैं यो निर्माण कार्यलाई कमसल बनाउन पहिल्यैदेखि सक्रिय रहँदै आएका छन् । जस कारण निर्माणको जिम्मेवारी लिएको कम्पनीले समेत त्यहि अनुसारको काम गरेको हो । बारम्बार कल्भर्ट तथा सडक निर्माणको विषयमा प्रश्न उठाउने क्रममा शुक्रबार स्थानीय दुई युवाबीच धकेलाधकेल समेत भएको थियो । त्यसपछि वडा अध्यक्ष भुजेलकै योजनामा प्रहरीमा गंगा मण्डलले केहि युवाहरु विरुद्ध उजुरी लेखाएका छन् । यसमा वडा अध्यक्षले समेत निर्माण अवरोध गरेको तथा निर्माण व्यवसायीसँग पैसा मागेको आरोप लगाउँदै प्रहरीमा कारवाहीका लागि लेखिदिएको युवाहरु बताउँछन् ।