विराटनगरले कहिले सफा सहरको नाम पाउने ?

<span class='c1'>विराटनगरले कहिले सफा सहरको</span> <span class='c2'>नाम पाउने ?</span>

नेवा चेम्जोङ
विराटनगर । बिहानको समयमा ताजा हावा लिन पैदल हिँड्नेहरूले नालीबाट आउने दुर्गन्ध सहनुपर्ने अवस्था छ। सफा पानी बग्नुपर्ने खोलानालामा फोहोरको लेदो बगिरहेको देखिन्छ भने हरियाली हुनुपर्ने नदी किनार फोहोरको डंगुरले भरिएको छ। विद्यालय वा कलेज जाने मुख्य सडकमा कुकुर, गाईवस्तुलगायतका पशुहरूको मलमूत्र देखिनु पनि विराटनगरवासीका लागि सामान्य दृश्य बनेको छ।

यस्ता समस्याप्रति स्थानीयवासीले निरन्तर गुनासो गरिरहे पनि विराटनगर महानगरपालिकाले भने फोहोर व्यवस्थापनमा विगतको तुलनामा उल्लेखनीय सुधार भएको दाबी गरेको छ।

महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार अघिल्लो अवस्थाको तुलनामा अहिले फोहोर व्यवस्थापनमा सुधार आएको छ। उनले अझै पनि व्यवस्थापन पूर्ण रूपमा प्रभावकारी हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा थप सुधार गरिने बताए। तर स्थानीयवासीको अनुभव भने महानगरको दाबीभन्दा फरक देखिन्छ।

विराटनगर–४ की सानिया झाका अनुसार सडकमा गाडीले किचिएर मरेका कुकुर र बिरालोहरू धेरै दिनसम्म हटाइँदैनन्। विभिन्न स्थानमा फोहोरका पोका जथाभावी फालिएको हुन्छ भने फोहोर संकलन गर्ने गाडी पनि सबै ठाउँमा नियमित रूपमा नपुग्ने गरेको उनको गुनासो छ। फोहोर व्यवस्थापनका लागि प्रभावकारी नियम कार्यान्वयन नभएको र कतिपयले खोलानालामै फोहोर फाल्ने गरेको भन्दै उनले महानगरले यसतर्फ कडा कदम चाल्नुपर्ने बताइन्।

यस्तै स्थानीयवासी भरोसा दाहालले घरको फोहोर बोरामा जम्मा गरेर खोलामा फाल्ने प्रवृत्ति अझै कायम रहेको बताइन्। उनका अनुसार खाली जग्गामा प्लास्टिक, प्रयोग भइसकेका स्यानिटरी प्याड, बच्चाको डायपरलगायतका फोहोर जथाभावी फालिने गरेको छ। कतिपय स्थानमा दुर्गन्धका कारण नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।


महानगरका अनुसार सार्वजनिक–निजी साझेदारी (PPP) अवधारणाअन्तर्गत महानगरभित्रको फोहोर व्यवस्थापन निजी संस्थामार्फत सञ्चालन भइरहेको छ। शाखा प्रमुख दाहालले हाल फोहोर व्यवस्थापन सेवामा करिब २२ हजार सदस्य आबद्ध रहेको जानकारी दिँदै आगामी दुईदेखि तीन वर्षभित्र यो संख्या ३० हजारभन्दा बढी पुर्‍याउने लक्ष्य रहेको बताए। दिगो फोहोर व्यवस्थापनमार्फत विराटनगरलाई नेपालकै सफा सहर बनाउने उद्देश्य रहेको उनको भनाइ छ।

हाल महानगरका १९ वटै वडामा तीन निजी संस्थाले सरसफाइको जिम्मेवारी सम्हालिरहेका छन्। वडा नं. १ देखि ५ र वडा नं. १९ मा नेपाल फुलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रा.लि., वडा नं. १२ देखि १८ मा सगरमाथा मल्टी सर्भिस प्रा.लि. तथा वडा नं. ६ देखि ११ सम्म स्वस्थ र शान्तिका लागि वातावरण नेपालले सरसफाइ सेवा सञ्चालन गरिरहेको महानगरले जनाएको छ।

महानगरले फोहोर व्यवस्थापनमा सुधार भएको दाबी गरे पनि स्थानीयवासीका अनुसार सडक, नाला, नदी किनार र सार्वजनिक खुला स्थानमा फोहोरको समस्या अझै उस्तै छ। आगामी दुई–तीन वर्षभित्र सेवा विस्तार र दिगो व्यवस्थापनमार्फत विराटनगरलाई सफा सहर बनाउने महानगरको लक्ष्य व्यवहारमा कहिले पूरा हुन्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्