भानु जयन्तीमा विराटनगरको एभरेष्टमा कविता वाचन प्रतियोगिता , सौमिका भईन् प्रथम

<span class='c1'>भानु जयन्तीमा विराटनगरको एभरेष्टमा कविता वाचन</span> <span class='c2'>प्रतियोगिता , सौमिका भईन् प्रथम</span>

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयले २१३औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता आयोजना गर्दै साहित्यकार तथा कवि रोहिणी रशिकलाई सम्मान गरेको छ। सोमबार विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का २४ जना विद्यार्थीले विभिन्न समसामयिक तथा साहित्यिक विषयमा कविता वाचन गरेका थिए। प्रतियोगितामा उत्कृष्ट चार विद्यार्थीलाई नगदसहित ट्रफी प्रदान गरिएको विद्यालयले जनाएको छ।

प्रतियोगितामा कक्षा १२ की छात्रा सौमिका ढकाल ‘भानु हेर तिम्रो देश’ शीर्षकको कविता प्रस्तुत गर्दै प्रथम भइ नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। कक्षा १२ का प्रेम खतिवडा ‘फर्कि आउ घर’ शीर्षकको कवितासहित द्वितीय हुँदै ७ हजार रुपैयाँ पुरस्कार पाए।
यस्तै, कक्षा ११ का आर्जन बराल ‘प्रकृतिको मौन पुकार’ शीर्षकको कविता प्रस्तुत गर्दै तृतीय भई ५ हजार रुपैयाँ प्राप्त गरे भने कक्षा १२ का रियोज मास्के ‘मुकुन्डो र मुकुट’ शीर्षकको कविताका लागि सान्त्वना पुरस्कारस्वरूप ३ हजार रुपैयाँबाट सम्मानित भए।
प्रतियोगिताको निर्णायकमा साहित्यकार तथा कवयित्री निर्मला कोइराला र कवि मीनकुमार नवोदित रहेका थिए।

कार्यक्रमकै अवसरमा साहित्यकार तथा कवि रोहिणी रशिकलाई दोसल्ला, सम्मानपत्र तथा १५ हजार ५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। सम्मान प्रमुख अतिथि साहित्यकार तथा राष्ट्रियसभाका पूर्व सदस्य खेम नेपाली र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खेम नेपालीले कवितामार्फत समाजमा ठूला परिवर्तन सम्भव हुने उल्लेख गर्दै विद्यार्थीलाई सिर्जनात्मक लेखनमा निरन्तर लागिरहन प्रेरित गरे। उनले साहित्यले देशको संस्कृति, सभ्यता र इतिहासलाई जीवन्त राख्ने भएकाले नयाँ पुस्ताले त्यसको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए। विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले पुस्तान्तरण र हस्तान्तरण प्रकृतिको नियम भए पनि त्यसका नाममा इतिहास र अग्रजहरूको योगदानको अवमूल्यन गर्न नहुने धारणा व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, शिक्षक–शिक्षिका तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्