‘द आर्ट अफ कफी : बारिस्ता कार्यशाला’ विराटनगरमा सम्पन्न

<span class='c1'>‘द आर्ट अफ कफी :</span> <span class='c2'>बारिस्ता कार्यशाला’ विराटनगरमा सम्पन्न</span>

विराटनगर । विराटनगर जुनियर जेसिजको आयोजनामा ‘द आर्ट अफ कफी : बारिस्ता कार्यशाला’ विराटनगरस्थित द कफी बार बारिस्ता एकेडेमी एन्ड क्याफे, सुनसरीमाई स्थानमा सम्पन्न भएको छ।

युवाहरूलाई आतिथ्य (हस्पिटालिटी) क्षेत्रप्रति आकर्षित गर्दै व्यावसायिक दक्षता अभिवृद्धि, स्वरोजगार प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरको बारिस्ता सीप विकास गराउने उद्देश्यले आयोजना गरिएको कार्यशाला पहिलो र दोस्रो चरणमा सञ्चालन गरिएको थियो। कार्यक्रममा ३५ जना युवाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता विराटनगर जुनियर जेसिज वर्ष २०२६ का अध्यक्ष ओम जोगीले गरेका थिए भने सञ्चालन महासचिव रक्षिता तिम्सिनाले गरेकी थिइन्।

कार्यशालामा द कफी बार बारिस्ता एकेडेमी एन्ड क्याफेका प्रशिक्षक आर्यन भण्डारीले कफीको उत्पत्ति, इतिहास, विश्वव्यापी विकासक्रम, नेपालमा कफी खेतीको अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कफी उद्योग, कफीका विभिन्न प्रकार, गुणस्तर पहिचान, एस्प्रेसोमा आधारित पेय पदार्थ बनाउने विधि, बारिस्ताको व्यावसायिक भूमिका, ग्राहक सेवा, आतिथ्य सत्कार तथा सेवा मापदण्डबारे सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए।

प्रशिक्षणका क्रममा सहभागीहरूले कफी बनाउने सम्पूर्ण प्रक्रिया प्रत्यक्ष अभ्यासमार्फत सिकेका थिए। कफी तयार गर्ने सही विधि, प्रस्तुतीकरण, ग्राहकलाई व्यावसायिक रूपमा सेवा गर्ने शैली तथा हस्पिटालिटी क्षेत्रमा आवश्यक व्यवहारिक सीपबारे पनि विस्तृत जानकारी दिइएको थियो। अन्तिम चरणमा प्रशिक्षकले विभिन्न प्रकारका कफी तयार गरी सहभागीहरूलाई स्वाद चखाएका थिए।

आयोजकका अनुसार हस्पिटालिटी तथा क्याफे उद्योग तीव्र रूपमा विस्तार भइरहेका बेला दक्ष बारिस्ताको माग बढ्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै युवाहरूलाई सीप, आत्मविश्वास र व्यावसायिक क्षमता प्रदान गरी स्वदेशमै सम्मानजनक रोजगारी तथा स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो।

कार्यक्रमको समापनमा सहभागीहरूलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रशिक्षण सफलतापूर्वक सञ्चालन गराएका प्रशिक्षक आर्यन भण्डारीलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। सहभागीहरूले प्रशिक्षणलाई व्यवहारिक, उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिँदै यस्ता सीपमूलक कार्यक्रमले युवाहरूमा उद्यमशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

‘आज सिकौं, भोलि सफल बारिस्ता बनौं’ भन्ने मूल भावनासहित सम्पन्न कार्यशालाले युवाहरूलाई हस्पिटालिटी क्षेत्रप्रति आकर्षित गर्नुका साथै सीप, अवसर र आत्मनिर्भरताको नयाँ सम्भावना उजागर गरेको आयोजकको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्