ब्याचलर पढ्न जानुभन्दा पहिलानै एक पटक बिराटनगर पुगेको थिँए । संयोगले ।
मोरङ रामपूरको घर गएको बेला । त्यस बेला भर्खरै साइकल सिकेको भएकाले रामपूर सम्म साइकलमै पुगेको थिँए । त्यस बेला इटहरीमा बस्ने शशी दाइको साइकल ।
ठुलोबुवाको छोरा सूर्य दाईपनि आउनुभएको रहेछ । उहाँ बिराटनगर पढ्नुहुन्थ्यो । भोलिपल्ट दाइले बिराटनगर जाँउ भन्नुभयो । म उत्साहित भैहालेँ । एघार कक्षाको परीक्षा दिईसकेपछि हुनुपर्छ । म खाली थिँए । खाली भएको समय र साइकल भर्खरै सिकेको फूर्ति । बिराटनगर कति टाढा छ भन्ने पनि नसोधि हुन्छ भनेँ ।
मलाई साइकलमा लामो बाटो हिँड्न मन लागेरनै ईटहरीबाट त्यहाँसम्म साइकल लिएर पुगेको थिँए ।
हामी बाटो लाग्यौ ।
नेताचौकसम्मको ग्राभेल बाटो सकिएपछि बाटो बिराटनगर मोडियो । बाटो हुन त पिच नै गरिएको हो तर अगाडी बढ्दै जाँदा छिनछिनमा पिच हराउँदै जान्थ्यो । अरू साइकलहरू बाटोको बिचतिर बाँकी भएको थोरै पिचमा पनि दौडिन्थे । मलाई त्यति सम्म कन्फिडेन्स थिएन । त्यसैले बेलाबेला ग्राभेल छिर्थेँ ।
दुईजना एउटै लहरमा कुदाउन पनि डर लाग्थ्यो मलाई । त्यसैले सूर्य दाइले सडकको दाईनेतिरबाट स्कर्टिङ गर्नुभएको थियो । तर एकछिनमा कुनै गाडी आयो भने म पुन पछाडि नै भई हाल्थेँ । दाइ हाँस्दै पर्खिनुहुन्थ्यो ।
जेठ महिना हुँदो हो । चर्को घाम लागिरहेको । हामी लगातार दौडिएर झोराहाट भन्ने ठाउँमा पुगेपछि आराम गर्न बस्यौ । जिउ फतक्कै गलिसकेको थियो ।
‘अब कति छ दाई?’ पसिना पुछ्दै मैले सोधेँ ।
‘आउन लागिहाल्यो । अब सिंग्या खोला कटेर पुष्पलाल चोक पुगेपछि आईहाल्छ ।’ दाइले भन्नुभयो ।
‘झोराहाटबाट निस्किएपछि पनि बाटो राम्रो आएन । मलाई बिराटनगर कस्तो होला भन्ने ठुलो जिज्ञासा थियो । मनमनै पुष्पलाल चोक आएपछि बाटो राम्रो होला भन्ने सोचेको थिए ।
तर चौक आईपुगेपछि त बाटो झन् झन् बिग्रिन थाल्यो । वर्षौसम्म नबनेको सडक भन्ने थाहा भयो । लामो समयसम्म धुलो र खाल्डो बाटोमा अल्मलिँदै हामी सूर्य दाइ बस्ने कोठासम्म पुग्यौ । ठ्याक्कै भुले शान्तिचौक हो कि कता हो।
धेरैबेर बस्ने समय कहाँ थियो । सूर्य दाइले मलाई बिराटनगर घुमाउँछु भनेर धेरैतिर दौडाउनुभयो । उहाँले यो ठाउँ यो त्यो ठाउँ त्यो भन्दै गर्दा मैले मुन्टो हल्लाए मात्र । सुनेजति सबै ठाउँ बिर्सिँए । एकैपटकमा लगातार देखाइएका ठाँउहरू याद नै नहुने । ठाउँ याद हुन कुनै न कुनै रूपमा त्यो ठाँउसँग नजिक हुनुपर्ने ।
महेन्द्र मोरङमा पसेको भने थोरैथोरै याद छ । उहाँले ब्याचलर पढ्दाका केही साथीहरूलाई भेटाउनुपनि भएको थियो । मैले पनि हात मिलाएको थिँए तर को को सँग हात मिलाएको थिँए भन्नेपनि याद भएन ।
बरु त्यसरी डुल्दै गर्दा बिराटनगरबारे बाल्यकालका केही कुराहरू दिमागमा आए ।
*****
पसलको सामान लिन बुवा तराई झर्नुहुन्थ्यो । उहाँ झरेपछि दुईवटा कुरा हुन्थ्यो; घरमा खेल्ने समय बढ्थ्यो र उहाँ फर्किएपछि नँया लुगा आँउथ्यो । विशेषगरी दसैँ र तिहार आउनेबेला कपडा लगायत अन्य सामान किन्न बुवा तराई जानुहुन्थ्यो । कपडा बाहेकको सामान भने हिलेबाट आँउथ्यो ।
बुवा फर्किएपछि धरान, बिराटनगर, जोगमनी, मङ्गलबारे र झापा जस्ता नामहरू दोहोरिएर सुनिन्थे । धेरै ठाउँमा हाम्रो आफन्त हुनुहुन्थ्यो । बिराटनगर र जोगमनी चाँही व्यापारिक काममा धेरै प्रयोग हुन्थे । आमा बुवा कुरा गरेको सुन्दा बुवा कहाँकहाँ पुगेर आउनुभएको हो थाहा हुन्थ्यो ।
म आफूलाई आएको सामान किनेको पसल कस्तो होला भनेर कल्पना गर्थेँ । तर तुम्लिङटार र खाँदबारीमा देखेका केही पसलहरूभन्दा धेरै टाढासम्म कल्पना पुग्दैन थियो । कल्पना गर्न पनि ठाउँ त देख्नैपर्ने रहेछ ।
बिराटनगर पुगेपछि सानोमा लगाएका कपडा कहाँ किनिएका होलान् भनेर संझिँए । सूर्य दाईले जोगमनी जाने बाटो भनेर देखाइदिँदा म रिक्साहरू हेर्दै थिँए । कुनै जोगमनी जाँदै थिए त कुनै फर्किँदै । ति मध्ये कुनै रिक्सामा बुवा दौडिनुभयो होला ।
म त्यसदिन जोगमनी पुगिन। यस्तो होला भनेर कल्पना पनि गरिन ।
कल्पना गर्न पनि कतै पुग्नुपर्ने रहेछ ।
केवल उत्सुक भइरहेँ । बुवापनि कुनैदिन म जस्तै उत्सुकता बोकेर आईपुग्नुभएको थियो बिराटनगर ।
*****
'फिल्म हेर्ने?' सूर्य दाईले सोध्नुभयो ।
लगभग २७ किलोमिटर साइकल यात्रा गरेको थिँए पहिलोपटक त्यसैले थाकेको पक्कै थिँए । तर कुनै चौकको मिठो पानीपूरीले अलिक शरीर हलुका बनाएको थियो ।
'कुन फिल्म कहाँ?' मैले सोधेँ ।
‘हिमालय हलमा सिंह इज किङ लागिरहेको छ । त्यही हेर ।’ कमला दिदीले भन्नुभयो ।
पहाडबाट झरेको एकवर्षमात्र भएकाले मलाई खासै हिन्दी आँउदैन थियो । खाँदबारीमा पढ्दा नेपाली फिल्म नछुटाई हेर्थेँ । बिराटचौकमा पनि शनिवार शनिवार एनटिभीमा आउने नेपाली चलचित्र हेर्ने कि कान्तिपुरमा आउने हिन्दी हेर्ने भन्ने विवाद हुन्थ्यो । मनमनै नेपाली हेर्ने भनिदिए हुन्थ्यो भन्ने लागेपनि धेरैले हिन्दी हेर्थे । अरूले हेरेको हेर्दाहेर्दै अलिअलि हिन्दी पनि जान्ने भएको थिँए । तरपनि फिल्म हेर्ने भनेर कसैले सोध्दा हिन्दी हेर्ने भन्ने आँट आईसकेको थिएन ।
हिन्दी फिल्म भनेपनि नहेरौ भन्न नसकेरनै चुप लागेको थिँए ।
‘तँ गएर खाना पकाउँदै गर । हामी हेरेर आँउछौ ।’ सूर्य दाइले भन्नुभयो ।
उहाँकै पछिपछि लागेर हल पुगेँ । गेटभित्र विभिन्न स्वरूपका पोस्टरहरू टाँगिएका थिए । मलाई पोस्टर हेर्न मन पर्थ्यो ।
हामी हलभित्र पस्यौ । फिल्म हेर्यौ ।
ठुलो हलमा जिन्दगीकै पहिलो फिल्म हेर्दैथिँए म । सोचेभन्दा धेरै ठुलो हल थियो । मानिसहरू पुरै भरिएका थिए । अक्षय कुमार आँउदा त पुरै हल नै थर्किएको । खाँदबारीको हलमा राजेश हमालको फिल्म आँउदा सुनेको हल्लाभन्दा पनि ठुलो ।
ठुलो ठाँउमा हल्ला पनि ठुलै हुँदो रहेछ ।
तर फिल्म सकिँदा अँध्यारो भइसकेको थियो । बाटो चकमन्न भईसकेका थिए । सँगै फिल्म हेरेर निस्किएका मानिसहरू हामीजस्तै अँध्यारोमा छिर्दै थिए ।
*****
दिँउसो जस्तै सूर्य दाइ दाइ अगाडी लाग्नुभयो । म पछिपछि लागेँ । अँध्यारो बाटोमा कता गइरहेको छु पनि थाहा भएन । बस् उहाँको पछि मात्र लागेँ ।
बाटो चुक घोप्टिएजस्तो अँध्यारो भइसकेको थियो । पिच नभएर ग्राभेलमात्र गरिएको रहेछ । कुनबेला कस्तो ढुङ्गामा ठोक्किने हुँ पनि निश्चित थिएन ।
म पहिलोपटक आएको बिराटनगर सहरको कुनै एक कुनामा त्यसरी बत्तिरहेको थिँए । अँध्यारो बाटोमा उज्यालो खोज्न हिँडेजसरी ।
बाटो कस्तो होला भनेर कल्पना गरेँ । वरपरका घरहरू कस्ता होलान् । त्यस घरमा बस्ने मान्छेहरू कस्ता होलान् ।
भोलिपल्ट बिहानै फर्किँयौ । बिराटनगरसँग लामो चिनजान हुन पाएन । अँध्यारोमा हिँडेको बाटो कुन हो भनेर ठम्याउन पनि पाइन ।
पछि ब्याचलर पढ्न त्यहाँ गएपछि पनि त्यो दिन राती हिँडेको बाटो कुन होला भनेर सोचिरहन्थेँ । अहिले पनि ठ्याक्कै सम्झना छैन । तर मलाई थाहा छ म त्यो बाटो पटकपटक हिँडिसकेको छु । बिराटनगरको धेरै बाटोहरू धेरै प्रयोजनको लागि हिँडेँ तीन वर्षे बसाइमा ।
हिँड्ने प्रयोजन हरेकक्षण फरक हुँदा बाटो दोहोरिने रहेछन् ।
*****
तर त्यसदिन अँध्यारोमा हिँडेको बाटो कुन होला भनेर खोज्नको लागि पछि कहिल्यै हिँडिन । त्यो बाटो अँध्यारोमा हिँडेर पनि दिमागमा सर्लक्क बसेको रहेछ ।
खोज्नुको पनि त कारण हुन्छ नि है । त्यो बाटो सजिलै भेटेको भए यति लेखिरहेको कहाँ हुन्थेँ म ?
सुरज सुवेदी
Twitter: @skyasesh