विराटनगर । कोशी राजमार्गको रानी–धरान खण्ड अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा वर्षातको पानी नालासम्म पुग्दैन । पानी पर्नथालेपछि सहरका विभिन्न क्षेत्रमा सबैभन्दा पहिला राजमार्ग जलमग्न हुन्छ । राजमार्गमा आकाशे पानीको निकास त्यसको नाला (ड्रेन) मार्फत नै हुनेपर्ने हो । तर, राजमार्गको पानी नालामा नभई स्थानीय सडकबाट बस्तीमा पस्छ । कोशी राजमार्गलाई छलेन सडकमा विस्तार गर्दा नै सहरका बस्तीका पानीका बारेमा मतलव राखिएन । जसका कारण बस्ती पानी सडकको नाला निकास दिने अवस्था अत्यन्तै कमजोर संभावना छ । बरु, उल्टै राजमार्गको नालाको पानी ओभरफ्लो भएर बस्ती पस्ने र डुबानको समस्या बढाउने जोखिम रहँदै आएको छ । विराटनगरमा सामान्य वर्षा हुँदा बेहोर्नुपर्ने डुबानको समस्याको एउटा कारण पूर्वाधार समेत मानिन्छ । जसमा कोशी राजमार्गदेखि भारतले निर्माण गरिदिएको एकिकृत भन्सार जाँच परियोजना (आईसीपी), आईसीपी जोड्ने सडक, भारतको बथनाहा–कटहरी रेलवे परियोजना समेत मानिन्छ ।
त्यसमा पनि उत्तर–दक्षिण कोशी राजमार्गको सतह पूर्वपश्चिम विकास भएको सहरको वस्ती भन्दा उचो रहेको छ । वस्ती बसेको भू–सतह भन्दा सडकको सतहको उचाई बढी छ । पूर्व–पश्चिम वस्तीको पानी राजमार्गको नालामा मिसाउन सकिदैन भने राजमार्ग छिचोलेर निकास दिन समेत असहज रहेको छ । छलेन सडक विस्तार हुनु अगाडीसम्म पहिला ९ वटा साइफन थिए । छलेनमा विस्तार गर्दा ६ वटा मात्रै राखिएको छ । अर्कोतर्फ राजमार्ग पूर्वतर्फको पानी पश्चिमतर्फ निकास दिने क्रसिङ सेक्सन राखिएका छैनन् । विराटनगरको निकासमा अर्को समस्या यसका कारणले पनि पारिरहेको छ ।
सडक डिभिजन कार्यालय विराटनगरका सूचना अधिकारी एवं इन्जिनियर प्रभातकिरण राईका अनुसार राजमार्गको पानी नालामा नजाने समस्या नरहेको दावी गर्दछन् । उनले रानी–धरान अन्तर्गत चार स्थानमा बाहेक नालामा पानी पुग्ने गरेको दावी गरेका छन् । तर, विराटनगर महानगरपालिका शहरी पूर्वाधार महाशाखा प्रमुख गोपाल पोखरेल भने राजमार्ग क्षेत्र स्थानीय सरकारको क्षेत्राधिकारमा नहुने भएपनि त्यहाँ समस्या आउँदा गाली मात्रै खानुपर्ने बताउँछन् । उनले राजमार्गमा जमेको पानी नालाबाट निकास नहुँदा वर्षात हुँदा सडकमै पानी जम्ने समस्या रहेपनि सम्बन्धित कार्यालयले चासो नराख्ने गरेको सुनाए ।
कोशी राजमार्गलाई विस्तार गरेर ६ लेन बनाउँदाको कार्य नै वैज्ञानिक नभएको देखिदै गएको छ । विराटनगरमा पूर्वतर्फ सिंघीया खोला र पश्चिमतर्फ केशलिया खोला छन् । यी दुवै खोलाको सतह पुरिएर उचो भइरहेको छ । वस्तीको भू–सतह भने घट्दो रहेको छ । जसका कारण पानी निकास कहाँ पु¥याउने भन्ने कुरा नै अलमलमा रहँदै आएको छ । अध्ययन प्रतिवेदनले सिंघीया भन्दा केशलिया खोलाको सतह केहि गहिरो देखाएको छ । तर, केशलिया खोलासम्म ड्रेन बनाएर राजमार्ग पूर्वको पानीको निकास दिन सहज छैन । पश्चिमतर्फको सिंघीयामा यहाँको पानी पु¥याउन सहज छैन । स्थानीय सरकारको लागतले नभ्याउने भएपछि अध्ययनमा समेत धेरै गहिरिएको देखिदैन ।
विराटनगर महानगरपालिकाले उत्तर–दक्षिण निकास करिडोरको संभावनालाई अध्ययन र प्रयोग भने अहिले गरिरहेको छ । जसमा दक्षिणतर्फको विराटनगर महानगरपालिकाको १३, १५, र १७ नम्बरको डुबान न्यूनीकरण गर्न राजमार्ग समानान्तर नालाको अवधारणा व्यवहारतः प्रयोगमा ल्याइएको छ । यहिस्तरको नाला विराटनगर ३ को ढाटदेखि कन्चनबारीसम्म अगाडी बढाउने भनिएको भएपनि अध्ययन भने गरिएको छैन ।
विराटनगरको दक्षिणवर्ती वडा १२, १४, १६ र १८ का वडाको निकासमा चुनौती अझै गहिरो बन्दै गएको छ । आईसीपीको संरचना, सडकको संरचना र रेलवेको संरचनाले यहाँको पानी जमेर बस्ने स्थितिमा जानसक्ने देखिन्छ । आईसीपीसँगै भारत सरकारले रेल्वे परियोजना पनि निर्माण गरिदिरहेको छ । ड्याम उठाएर बनाइएको रेल्वे परियोजनाले पानी निकास रोकेको छ । रेल्वेमा निर्माण गरिएका निकास नाला जमिनको सतह भन्दामाथि छन् । भारतले आफ्नो भूभाग जोगाउने गरी संरचना निर्माण गरेका कारण विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको सरोकारवालाहरु बताउँछन् । यो विषयमा समयमै चासो नराख्नु नेपाली पक्षको कमजोरी भएको देखिन्छ ।