विराटनगर भाद्र ५ ,
नेपालको चर्चित रियालिटी शो ‘हिमालय रोडिज सिजन–८’ को फिजिकल अडिसन इटहरीमा आयोजना हुने भएको छ।
आयोजकका अनुसार आगामी भदौ ८ गते बिहान ९:०० बजेदेखि इटहरीस्थित यामाहा शोरुममा अडिसन सञ्चालन हुनेछ। यस अडिसनमा सहभागी हुन चाहने युवा तथा प्रतिस्पर्धीहरूलाई तोकिएको समयमै उपस्थित हुन आग्रह गरिएको छ।
यस सिजनमा चर्चित सञ्चारकर्मी तथा मोडल मालभिका सुब्बा ग्याङ लिडरका रूपमा प्रतिस्पर्धीहरूको प्रतिभा तथा शारीरिक र मानसिक क्षमताको परीक्षण गर्न उपस्थित हुनेछिन्।
यामाहा रेसिङद्वारा प्रस्तुत तथा माउन्टेन ड्युको सहकार्यमा हिमालय टेलिभिजनमार्फत प्रसारण हुने यस साहसिक रियालिटी शोले हरेक सिजनमा युवाहरूलाई आफ्नो क्षमता र आत्मविश्वास देखाउने उत्कृष्ट मञ्च प्रदान गर्दै आएको छ। इटहरी अडिसनमार्फत पनि थुप्रै प्रतिभावान प्रतिस्पर्धीहरू छनोट हुने अपेक्षा गरिएको छ।