विराटनगर । बालबालिकालाई विना सिसाको स्कुल बसमा ओसारपसार गर्दै आएको विषयमा समाचार प्रसारण भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सम्बन्धित बस खोजी गरी कारबाही गरेको छ । विराटनगर महानगरपालिका–१० मा रहेको ओडिसी स्कुलको बसले बसको अगाडीपटीको सिसा नरहेको अवस्थामा विद्यार्थी ओसारपसार गर्दै आएको विषयमा आवर विराटनगरले भिडियोसहित समाचार प्रसारण गरेको थियो । समाचारमा विद्यार्थीको सुरक्षामाथि गम्भीर लापरबाही भएको भन्दै तत्काल सुधार गर्नुपर्ने विषय उठाइएको थियो ।
समाचारमा आएको विषयलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त बसको खोजी गरी चालक तथा विद्यालय प्रशासनलाई आवश्यक कारबाही गरेको हो । विद्यार्थी बोक्ने बसमा आवश्यक सुरक्षा मापदण्ड पूरा नगरी सञ्चालन गरेको भन्दै पहिलोपटकका लागि ५ सय रुपैयाँ जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिनुभयो । विना सिसाको बसमा विद्यार्थी ओसारपसार गर्दा बसभित्रका बालबालिका बाहिरी जोखिममा पर्नुका साथै दुर्घटना भएमा थप क्षति हुन सक्ने भएकाले यस्तो लापरबाहीलाई सामान्य रुपमा लिन नहुने ट्राफिक प्रहरीले जनाएको छ ।


यता ओडिसी स्कुलका सञ्चालक निरज दासले बसको सिसा मर्मत तथा जडानका लागि अर्डर दिइसकेको बताउनुभएको छ । उहाँका अनुसार केही दिनभित्रै सिसा जडान गरी बसलाई पूर्ण रुपमा मर्मत गरेर सञ्चालनमा ल्याइनेछ । “बसको सिसा मर्मतका लागि अर्डर दिएका छौँ । आज–भोलिमै काम सम्पन्न हुन्छ । सोमबारदेखि बसलाई पूर्ण रुपमा मर्मत गरेर सञ्चालन गर्छौँ,” उहाँले भन्नुभयो । विद्यालयमा आफ्ना बालबालिकालाई सुरक्षित वातावरणमा पठाउने अभिभावकको अपेक्षा हुन्छ । त्यसैले विद्यार्थी ओसारपसार गर्ने सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड, नियमित मर्मतसम्भार तथा चालकको जिम्मेवारीमा विद्यालय प्रशासनले विशेष ध्यान दिन आवश्यक देखिन्छ ।