काठमाडौं । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट प्रभावितका लागि राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने भएको छ । कम्पनीले गृह मन्त्रालयको निर्णयअनुसार राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि निःशुल्क व्यवस्था गरेको जनाएको हो ।
बुद्ध एयरले बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति सुरुदेखि नै गम्भीर रहेको र यस अवधिमा हवाई भाडादरमा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ । कम्पनीका अनुसार यात्रुले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० छुट समेत पाउनेछन् ।
कम्पनीले टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत उपलब्ध हवाई भाडादर हेर्न यात्रुलाई आग्रह गरेको छ । वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज र सुलभ भाडादर उपलब्ध रहेको बुद्ध एयरको भनाइ छ । बाढी–पहिरोका कारण सडक यातायात प्रभावित भइरहेका बेला बुद्ध एयरले भैरहवा, पोखरा र भरतपुरका लागि नियमित अतिरिक्त उडान समेत सञ्चालन गरिरहेको जनाएको छ ।
बाटोघाटो सहज नभएसम्म भाडादरमा परिवर्तन नगर्ने प्रतिबद्धता जनाउँदै बुद्ध एयरले विषम परिस्थितिमा व्यावसायिक चुनौती भए पनि यात्रुलाई सहज र सुलभ भाडादर उपलब्ध गराउने जनाएको छ ।