ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ । यातायात सञ्चालन गर्नका लागी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तमोर इनर्जी प्रालिले बेल ब्रिज निर्माण गरेको हो ।
फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेल ब्रिज निर्माण गरिएको हो । कुल सात करोड ८५ लाख १९ हजार १७६ रुपियाँको लागतमा बेल ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार बेल ब्रिजको लम्बाई ५४।८ मिटर र चौडाइ ४।५ मिटर रहेको छ । उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका लागि सहज भएको गाउँपालिकाले जनाएको छ ।
तमोर इनर्जी प्रालिको प्रवर्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण भइरहेको छ ।