रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको देखाउन च्याटजीपीटीको प्रयोग गरी नक्कली बैंक तथा भुक्तानी विवरण तयार गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउने उद्देश्यले कार्कीले च्याटजीपीटीमार्फत नक्कली स्टेटमेन्ट तयार पारेका थिए। उनले तयार पारेको उक्त नक्कली विवरणमा रकम कोषमा जम्मा भएको देखाउनुका साथै आफ्नै क्यूआर कोड राखेर सामाजिक सञ्जालमा प्रचार गरेको प्रहरीको भनाइ छ। तर, स्टेटमेन्टमा कोषको नाम उल्लेख भए पनि वास्तविक रूपमा उक्त रकम जम्मा भएको पुष्टि नभएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर ठगीलगायतका विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले विपद् तथा राहतका नाममा सामाजिक सञ्जालमा प्रसारित हुने आर्थिक सहयोगसम्बन्धी सूचना र भुक्तानी प्रमाणप्रति सचेत रहन आग्रह गर्दै रकम पठाउनुअघि सम्बन्धित निकायको आधिकारिक माध्यमबाट विवरण तथा भुक्तानीको सत्यता पुष्टि गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।