विराटनगर। सुनवर्षी नगरपालिकाका नागरिकले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । नागरिकलाई सहज, पहुँचयोग्य र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुनवर्षी नगरपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि यस्तो सुविधा सुनिश्चित भएको हो । भदौ १५ गते भएको सम्झौतामा जीवन विकास सामुदायिक अस्पतालका प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र सुनवर्षी नगरपालिकाका उपप्रमुख मीरा देवी दास केवरतले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सुनवर्षी नगरपालिकाका स्थायी बासिन्दा, स्थानीय तहका कर्मचारी, निर्वाचित जनप्रतिनिधि तथा सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले अस्पतालबाट उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् । अस्पतालमा उपलब्ध बहिरंग सेवा, आकस्मिक सेवा, शय्या, प्रयोगशाला, रेडियोलोजी, भौतिक उपचार, शल्यक्रिया, दन्त सेवा, दन्त प्रयोगशाला, सीटी स्क्यान र एमआरआईलगायत सेवामा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
सम्झौताले सामान्य उपचारदेखि जटिल स्वास्थ्य सेवासम्ममा सुनवर्षी क्षेत्रका नागरिकको खर्च घटाउने अपेक्षा गरिएको छ । विशेषगरी महँगो उपचार मानिने शल्यक्रिया, सीटी स्क्यान र एमआरआईलगायत सेवामा छुट उपलब्ध हुने भएपछि नगरवासीलाई आर्थिक भार कम हुने देखिएको छ । सम्झौताको अवधि भदौ १५ गतेदेखि एक वर्ष कायम गरिएको छ । आवश्यकता र प्रभावकारिताका आधारमा दुवै पक्षको आपसी सहमतिमा सम्झौता नवीकरण वा विस्तार गर्न सकिने व्यवस्था गरिएको छ ।
कटहरी गाउँपालिका–२, हल्दीबारीमा रहेको जीवन विकास सामुदायिक अस्पताल २०० शय्याको अस्पताल हो । अस्पतालले विशेषज्ञ बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, उच्च निर्भरता उपचार कक्ष तथा मुटु उपचारसम्बन्धी सघन उपचार सेवासमेत सञ्चालन गर्दै आएको छ । अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्षमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ ।
नगरपालिका र अस्पतालबीचको यो सहकार्यले सुनवर्षी क्षेत्रका नागरिकलाई उपचारका लागि सहज पहुँचसँगै आर्थिक राहत दिने अपेक्षा गरिएको छ । स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा लिन प्रोत्साहन मिल्ने र उपचारका लागि टाढा जानुपर्ने बाध्यता समेत कम हुने विश्वास गरिएको छ ।