सिरहा। सिरहा रमौल मुस्लिम समुदायले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख ४४ हजार ६ सय रुपैयाँ सहयोग गरेको छ।
समुदायले विपद्को घडीमा नेपाली दाजुभाइ तथा दिदीबहिनी सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ। समुदायका तर्फबाट बाढीपीडितहरूको राहत तथा सहयोगका लागि रकम उपलब्ध गराइएको हो।
सिरहा रमौल मुस्लिम समुदायले विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको जनाएको छ। समुदायले मानवीय सहयोगमार्फत पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न व्यक्ति, संस्था तथा समुदायबाट सहयोग जुट्ने क्रम जारी छ। सरकारले पनि विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त कोषमा सहयोग गर्न आह्वान गर्दै आएको छ।