काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।
राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् सम्पूर्ण देशबासीका नाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा हुने सम्भावना औँल्याएका छन् । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा समेत भारी वर्षाको आंकलन गरिएको छ । मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ लगायत हिमाली भूभाग, बागमती र सुदूरपश्चिमका पहाडी खण्ड तथा कर्णालीको जुम्ला आसपासका क्षेत्रहरूमा बाढी, पहिरो, डुबान एवं सडक अवरोधको जोखिम उच्च रहने उल्लेख छ । विपद्को सम्भावनालाई मध्यनजर गर्दै सम्बद्ध निकाय तथा नागरिकहरूका लागि विशेष आग्रह गरिएको छ । बाढी, पहिरो तथा डुबानले सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले पानी परिरहेको बेला र रातको समयमा राजमार्गमा यात्रा नगर्न भनिएको छ । ट्रेकिङ वा हिमाली क्षेत्रको भ्रमण तालिका तय गरेका व्यक्तिहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न सुझाइएको छ ।
नदी, खोला किनार तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ । मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने नियमित बुलेटिनहरू अवलोकन गर्न तथा सरकारी निर्देशनहरूको पूर्ण पालना गर्न भनिएको छ ।साथै, सम्भावित विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सम्बन्धित सम्पूर्ण सरकारी निकायहरूलाई आवश्यक पूर्वतयारी एवं प्रभावकारी समन्वयमा रहन निर्देशन दिइएको छ ।