विराटनगर। सुनसरीको रामधुनी नगरपालिका–१ झुम्काबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित विस्फोटक पदार्थ (पटका) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४८ वर्षीय धमु गोस्वामी र २७ वर्षीय सोनु गोस्वामीको घरमा खानतलासी गर्दा लुकाइछिपाई राखिएको पटका बरामद गरेको हो। प्रहरीका अनुसार बरामद गरिएका पटकाको मूल्य अनुमानित १० लाख ३ हजार २४८ रुपैयाँ बराबर रहेको छ। बरामद गरिएका विस्फोटक पदार्थहरूमा नागिन १५ कार्टुन, ३०० वटा सुप्रिम डिलक्स फुलझरी, ३३ वटा सुपर हिट फुलझरी, १२७० वटा सानो फुलझरी, १६५ वटा पेन्टा फोकस, ९२० वटा स्पिनर सुपर डिलक्स(चक्की बम), ७५० वटा म्याजिक मिक्की माउस पप, १०६० वटा बुलेट बम र २५० वटा झिरझिरे पडका रहेका छन्।
पक्राउ परेका दुवै जनालाई पटकासहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।