विराटनगर । फुटबलका पूर्वखेलाडी तथा नेपाली फुटबलका अभियन्ता एन्फा का कन्द्रिय सदस्य दीपेन्द्र धिमाल (ड्राइभर) को आज विहान उपचारको क्रममा निधन भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–६ का ५९ वर्षीय धिमालको उपचारका क्रममा आज बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ । धिमाल लामो समयदेखि ‘प्यान्क्रियाज’ लगायत स्वास्थ्य समस्याबाट पीडित थिए । उनी केही समयअघि भारतको हैदरवादमा उपचार गराएर घर फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार थप उपचार (फ्लोअप)का लागि आइतबार पुनः भारत जाने तयारी थिए ।
तर, बुधबार साँझ स्वास्थ्यमा समस्या आएपछि स्थानीय अरनिको अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनलाई रक्तमा चिनीको मात्रा घट्ने, ज्वरो आउने र वान्ता हुने समस्या थियो । उपचारकै क्रममा आज बिहान ५ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको परिवारले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरी विदेशमा रहेकाले उनी आएपछि मात्रै दाहसंस्कार गरिने जानकारी परिवारले दिएको छ ।


धिमालको फुटबल यात्रा :
मोरङको उर्लाबारी–६ मा २०२५ सालमा जन्मिएका धिमालले खेलाडीका रूपमा स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न टोलीबाट फुटबल खेलेका थिए । पश्चिम बंगालको इस्ट बंगाल, भुटानको थिम्पु टिम, जनकपुर चुरोट कारखाना हुँदै थ्रीस्टार क्लबबाट समेत उनले फुटबल खेले। मैदानमा आक्रामक र बल नियन्त्रणमा अब्बल रहेका उनलाई सहकर्मीले ‘ड्राइभर’ उपनाम दिएका थिए । खेलाडी जीवनपछि पनि धिमालले उर्लाबारीको फुटबल विकासमा सक्रिय भूमिका निर्वाह गरे। स्थानीयदेखि गोल्डकपस्तरका प्रतियोगिता आयोजना गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा उनको महत्वपूर्ण योगदान रह्यो। विशेषगरी प्लान नेपालसँगको सहकार्यमा आम्बाडी र बयरबनमा महिला फुटबल प्रशिक्षण सञ्चालन गरी महिला खेलाडी उत्पादनमा उनले भूमिका खेलेका थिए।
उर्लाबारीबाट राष्ट्रिय टोली तथा ए–डिभिजनमा पुगेका थुप्रै खेलाडीको फुटबल यात्रामा धिमालको प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान रहेको छ । एपीएफको महिला तथा पुरुष फुटबल टोली निर्माणमा समेत उनले योगदान गरेका थिए । उर्लाबारी फुटबल क्लबका संस्थापक तथा अध्यक्ष, उर्लाबारी युवा क्लबका संस्थापक हुँदै मोरङ जिल्ला फुटबल संघको सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को कोशी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यसमेत बनेका थिए। खेलाडी, प्रशिक्षक, आयोजक र नेतृत्वकर्ताका रूपमा नेपाली फुटबलमा योगदान दिएका धिमाललाई उर्लाबारीको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिका रूपमा सम्झिने गरिएको छ ।