विराटनगरमा बस्ने हामीमध्ये धेरैले कुनै न कुनै समयमा एउटा साझा समस्या प्रत्यक्ष रूपमा भोगेका छौँ—अनावश्यक र अत्यधिक चर्को आवाज।
कहिले धार्मिक कार्यक्रमका नाममा, कहिले विवाह तथा पारिवारिक कार्यक्रमका नाममा, कहिले राजनीतिक गतिविधिका नाममा, कहिले मनोरञ्जनका नाममा त कहिले प्रचार–प्रसारका नाममा। कारण र अवसर फरक होलान्, तर समस्या एउटै छ—ध्वनिको सीमा नाघ्दै गएको अवस्था। यस्ता गतिविधिहरू केही समयका लागि मात्र हुन्छन् भनेर बेवास्ता गर्न सकिएला। तर जब यही कुरा पटक–पटक दोहोरिन्छ र एउटा ठूलो सहरका हजारौँ नागरिकको दैनिक जीवनको हिस्सा बन्छ, तब यो व्यक्तिगत असहजताको मात्र विषय रहँदैन। यो सार्वजनिक शान्ति, सभ्यता, नागरिकको अधिकार र सहरी व्यवस्थापनसँग जोडिएको विषय बन्छ।
अचानक अत्यधिक ठूलो आवाज कानमा पर्दा हामीमध्ये कतिपयलाई केही क्षणका लागि आफ्नै मानसिक अवस्था नियन्त्रण गर्न गाह्रो हुने परिस्थिति सिर्जना हुन्छ। पढिरहेका विद्यार्थी, काम गरिरहेका मानिस, घरमा आराम गरिरहेका वृद्धवृद्धा, बिरामी, बालबालिका वा बिहानैदेखि आफ्नो दिनचर्यामा लागेका नागरिक—सबैलाई एउटै आवाजले समान रूपमा प्रभावित गर्न सक्छ। तर हामीमध्ये धेरैले यसलाई अझै पनि ‘यस्तै हो’, ‘केही समय त हो’, ‘कार्यक्रम हो रमाइलो गर्न दिऊँ’ भनेर सहिरहेका छौँ।
प्रश्न यहीँबाट सुरु हुन्छ—सहेर बस्नु नै यसको समाधान हो त ?
विवाहको खुसी, तर सहरभरि सास्ती किन ?
कसैको विवाह हुन्छ। खुसीको कुरा हो। परिवार, आफन्त र साथीभाइ जम्मा भएर रमाइलो गर्नु स्वाभाविक हो। तर के विवाह भयो भन्दैमा सार्वजनिक सडकलाई घण्टौँसम्म अत्यधिक चर्को डिजे, बाजागाजा र लाउडस्पिकरको जिम्मा लगाउन मिल्छ ? सार्वजनिक सडकमा ठूलो आवाजमा डिजेसहितका बाजागाजा बजाउँदै आवतजावत नै प्रभावित हुने गरी सडक अस्तव्यस्त बनाउनु, अत्यन्त उच्छृङ्खल गीत तथा नाचगानसहितको गतिविधि गर्नु—के यही नै खुसी मनाउने सभ्य तरिका हो ? यदि यस्ता कार्यक्रमका लागि उपयुक्त र व्यवस्थित स्थान छन् भने त्यहाँ सुरक्षित र मर्यादित रूपमा रमाइलो गर्न सकिँदैन ? विवाह गरौँ, खुसी मनाऔँ, नयाँ परिवार सुरु गरौँ—यसमा कसैको आपत्ति छैन। तर अरूको बाटो, समय र शान्ति किन कब्जा गर्ने ?
कहिलेकाहीँ त दृश्य यस्तो देखिन्छ, मानौँ कसैको विवाह हुँदा दाइजोमा सार्वजनिक सडक र फुटपाथ नै परेको हो। खुसी व्यक्तिगत हो। तर त्यसको असर सार्वजनिक हुनु आवश्यक छैन। धर्म र आस्थाको सम्मान गरौँ, तर ध्वनि प्रदूषणलाई धर्म नबनाऔँ अब धार्मिक कार्यक्रमतर्फ पनि जाऔँ। तराई, विशेषगरी विराटनगर धार्मिक, सांस्कृतिक र सामाजिक विविधताले भरिएको सहर हो। यहाँ विभिन्न धर्म र समुदायका मानिसहरू मिलेर बस्छन्। म स्वयं हिन्दु हुँ। त्यसैले हिन्दु धर्म, संस्कृति, चाडपर्व र परम्पराको महत्व मलाई पनि थाहा छ। पूजा, आराधना, भजन, कीर्तन, पर्व र धार्मिक उत्सव हाम्रो सामाजिक जीवनका महत्वपूर्ण पक्ष हुन्।
त्यसैले यो कुरा स्पष्ट रूपमा भन्न चाहन्छु—मेरो प्रश्न कुनै धर्म वा धार्मिक समुदायप्रति होइन। मेरो प्रश्न ध्वनि प्रदूषणप्रति हो। रामनवमी होस्, कृष्ण जन्माष्टमी, सरस्वती पूजा, लक्ष्मी पूजा, काली पूजा, विश्वकर्मा पूजा वा अन्य कुनै धार्मिक अवसर—आस्था र उत्सव मनाउन पाइन्छ। तर मूर्ति परिक्रमा वा विसर्जनका नाममा अत्यधिक ठूलो साउन्ड सिस्टम प्रयोग गरेर सडकमा घण्टौँसम्म कर्कश संगीत बजाउने, आवतजावत प्रभावित गर्ने र सर्वसाधारणलाई असहज बनाउने गतिविधिलाई धार्मिक स्वतन्त्रताको नाममा कति समयसम्म स्वीकार गरिरहने ?
अझ कतिपय विसर्जन तथा जुलुसका क्रममा मदिरा वा अन्य नशालु पदार्थ सेवन गरेका व्यक्तिहरू चर्को डिजेको संगीतमा उच्छृङ्खल रूपमा नाच्दै, कराउँदै, दौडिँदै र कहिलेकाहीँ झैझगडासम्म गर्ने दृश्य पनि देखिन्छ। के यो हाम्रो धर्म र संस्कृतिको वास्तविक स्वरूप हो ?
हाम्रो आफ्नै संस्कृति कहाँ छ ?
एउटा प्रश्न मैले लामो समयदेखि आफैँलाई सोधिरहेको छु। हामी नेपालीको आफ्नै मौलिक संस्कृति, परम्परा र धार्मिक संगीत छैन ? हामी सभ्य, शालीन र सरल किसिमका भजन गाउन सक्दैनौँ ? हाम्रो आस्था व्यक्त गर्न अनिवार्य रूपमा अत्यधिक ठूलो साउन्ड सिस्टम र डिजे नै चाहिन्छ ?
भारतको बिहार तथा उत्तर प्रदेश क्षेत्रमा लोकप्रिय केही भोजपुरी गीतहरूको धुन वा शैलीलाई केही शब्द परिवर्तन गरेर भगवानको नाम जोड्दै बनाइएका गीतहरूलाई नै हाम्रो धार्मिक भजनको स्वरूप मान्नुपर्ने हो ? भगवानको नाम जोडिएपछि जुनसुकै गीत भजन बन्छ त ? अझ ठूलो प्रश्न—भगवानलाई यति ठूलो आवाज चाहिन्छ भनेर भगवानले नै कतै भन्नुभएको छ ?
हाम्रो धर्मले त संयम, शान्ति, सद्भाव र अनुशासनको कुरा गर्छ। त्यसो भए हाम्रो धार्मिक उत्सवको पहिचान पनि त्यही मूल्यसँग मेल खाने हुनुपर्दैन ?
अरूको शान्ति भंग गरेर मनाइएको उत्सवले हाम्रो आस्थालाई कति बलियो बनाउँछ ?धर्म मात्र होइन, समस्या सबै क्षेत्रमा छ यो समस्या धार्मिक कार्यक्रममै सीमित छैन।
मनोरञ्जनात्मक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, राजनीतिक सभा तथा जुलुस, चुनावी प्रचारप्रसार, विभिन्न संघ–संस्थाका कार्यक्रम, विवाह तथा अन्य पारिवारिक समारोह, प्रचार सामग्री बोकेर सहरभरि ठूलो आवाजमा हिँड्ने सवारीसाधन, विभिन्न उद्घाटन तथा सार्वजनिक कार्यक्रमलगायत अनेकौँ अवसरमा अत्यधिक ध्वनि प्रयोग भइरहेको हुन्छ।
कहिले कुनै कार्यक्रमको उद्घोषणा यति ठूलो आवाजमा हुन्छ कि घरभित्र बसेर पनि आफ्नै कुराकानी सुन्न गाह्रो हुन्छ।
कहिले प्रचारप्रसारका लागि गीत र विज्ञापन बजाउँदै सवारीसाधनहरू सडकमा घुमिरहेका हुन्छन्।
कहिले राजनीतिक कार्यक्रमको नाममा माइक र साउन्ड सिस्टमको आवाज टाढासम्म पुग्छ।
कहिले मनोरञ्जनका नाममा रातिसम्म चर्को संगीत बज्छ।
अवसर फरक भए पनि नागरिकले भोग्ने समस्या एउटै हो—अनावश्यक ध्वनि।
हामी किन अझै मौन छौँ ?
सबैभन्दा अचम्मको कुरा के हो भने यो समस्या हामी सबैले कुनै न कुनै रूपमा भोगिरहेका छौँ।
घरमा बसेका छौँ—आवाज आइरहेको छ।
सडकमा हिँडिरहेका छौँ—आवाज आइरहेको छ।
आराम गर्न खोजेका छौँ—आवाज आइरहेको छ।
पढ्न खोजेका छौँ—आवाज आइरहेको छ।
काम गर्न खोजेका छौँ—आवाज आइरहेको छ।
तर पनि हामीमध्ये धेरैजसो मौन छौँ।
सायद ‘आज अरूको कार्यक्रम हो, भोलि मेरो पनि हुन सक्छ’ भन्ने मानसिकताले पनि हामीलाई रोकिरहेको छ।
तर सार्वजनिक समस्या व्यक्तिगत सहनशीलताले समाधान हुँदैन।
आज अरूको आवाज सह्यौँ, भोलि आफ्नो आवाजले अरूलाई दुःख दिने अधिकार पाइयो भन्ने होइन।
जिम्मेवार निकायहरू कहाँ छन्रु
अब प्रश्न विराटनगरका सर्वसाधारणलाई मात्र होइन।
सम्बन्धित स्थानीय सरकार, प्रशासन, प्रहरी र अन्य जिम्मेवार निकायलाई पनि हो।
ध्वनि प्रदूषण नियन्त्रणका लागि नियम, मापदण्ड र जिम्मेवारीहरू छन् भने तिनको प्रभावकारी कार्यान्वयन किन भइरहेको छैन ?
कुन क्षेत्रमा, कुन समयमा, कति स्तरसम्म ध्वनि प्रयोग गर्न पाइन्छ ?
सार्वजनिक सडकमा कार्यक्रम गर्दा के–कस्ता मापदण्ड पूरा गर्नुपर्छ ?
धार्मिक, राजनीतिक, वैवाहिक, मनोरञ्जनात्मक वा प्रचारप्रसारका कार्यक्रमका लागि एउटै नियम लागू हुन्छ कि हुँदैन ?
नियम उल्लङ्घन हुँदा कसले अनुगमन गर्ने ?
उजुरी परेपछि कसले कारबाही गर्ने ?
सबैभन्दा महत्वपूर्ण—नियम सबैका लागि समान रूपमा लागू हुन्छ कि पहुँच र परिस्थिति हेरेर फरक–फरक ?
यी प्रश्नको स्पष्ट उत्तर अब आवश्यक छ।
ध्वनि प्रदूषण केवल कानको समस्या होइन
अत्यधिक आवाज केही मिनेट वा केही घण्टाको सामान्य असहजता मात्र होइन। पटक–पटक र अनावश्यक रूपमा हुने चर्को आवाजले मानिसको दैनिक जीवन, आराम, अध्ययन, काम र मानसिक शान्तिमा असर पार्न सक्छ।
त्यसैले यसलाई ‘कार्यक्रम हो, सहिदिनुपर्छ’ भनेर मात्र हेर्न मिल्दैन।
कुनै व्यक्तिको उत्सव मनाउने अधिकार जति महत्वपूर्ण छ, अर्को व्यक्तिको शान्त वातावरणमा बाँच्ने अधिकार पनि त्यति नै महत्वपूर्ण छ।
स्वतन्त्रता भनेको मनपरी गर्ने छुट होइन।
अब विराटनगरले सोच्नुपर्ने बेला आएको छ
विराटनगर एउटा सहर हो। यहाँ हजारौँ परिवार बस्छन्। फरक–फरक धर्म, भाषा, जातजाति, संस्कार र जीवनशैली भएका मानिसहरू बस्छन्।
यस्तो सहरमा एकअर्काको अधिकार र संवेदनशीलताको सम्मान नगर्ने हो भने सहरी जीवन झन् असहज बन्दै जान्छ।
धर्म मनाऔँ।
संस्कृति जोगाऔँ।
विवाह मनाऔँ।
राजनीतिक कार्यक्रम गरौँ।
मनोरञ्जन गरौँ।
प्रचारप्रसार गरौँ।
तर अरूको शान्ति र सार्वजनिक जीवनलाई बन्धक बनाएर होइन।
हामीलाई उत्सव चाहिन्छ, उच्छृङ्खलता होइन।
हामीलाई संगीत चाहिन्छ, ध्वनि आतंक होइन।
हामीलाई आस्था चाहिन्छ, अरूको शान्तिमाथि हस्तक्षेप होइन।
अब विराटनगरवासीले पनि यस विषयमा आवाज उठाउनुपर्छ।
र सम्बन्धित निकायहरूले पनि यसलाई सामान्य समस्या नभई गम्भीर सार्वजनिक सरोकारको विषयका रूपमा लिनुपर्छ।
किनकि समस्या समाधान गर्न असम्भव केही छैन।
आवश्यकता केवल स्पष्ट नियम, नियमित अनुगमन, समान कार्यान्वयन र जिम्मेवार नेतृत्वको हो।
नियम बनाउने मात्र होइन, लागू गर्ने इच्छाशक्ति चाहिएको छ।
नत्र प्रश्न फेरि पनि उही रहनेछ।
ध्वनिको आतंकस् विराटनगर कहिलेसम्म सहने ?