विराटनगर । मनमोहन इन्स्टिच्युट अफ लमा बीबीए एलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले मोरङ जिल्ला अदालतको भ्रमण गरेका छन्। कानुनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीलाई अदालतको कार्यसम्पादन, न्यायिक प्रक्रिया तथा कानुनी अभ्यासबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो।
भ्रमणका क्रममा विद्यार्थीहरूले मोरङ जिल्ला अदालतमा भइरहेका मुद्दाको सुनुवाइ तथा बहसको प्रत्यक्ष अवलोकन गरेका थिए। उनीहरूले अदालतको कार्यप्रक्रिया, मुद्दा व्यवस्थापन, सुनुवाइका चरण तथा न्यायिक कामकारबाहीबारे जानकारी लिएका थिए। त्यस क्रममा विद्यार्थीहरूले मोरङ जिल्ला अदालतका प्रशासन प्रमुख तथा श्रेस्तेदार मणी पोखरेलसँग अन्तरक्रियासमेत गरेका थिए। अन्तरक्रियामा पोखरेलले अदालतको दैनिक कामकारबाही, मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका प्रक्रिया तथा न्यायिक सेवासम्बन्धी विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए।
अदालतको प्रत्यक्ष अवलोकन र अन्तरक्रियाबाट विद्यार्थीहरूले कक्षाकोठामा अध्ययन गरेको कानुनी विषयलाई व्यवहारमा कसरी प्रयोग गरिन्छ भन्नेबारे अनुभव हासिल गरेको कलेजले जनाएको छ।