विराटनगर । नेपाल–भारत कार्गोरेल सेवा विराटनगरसम्म विस्तारपछि विराटनगरमा निरन्तरता भर्खरै पाइरहेको थियो । विराटनगर–१८ बुधनगरस्थित आईसिपी नजिकै नेपाल कष्टम यार्ड (एनसीवाई)सम्म रेलले कार्गो ढुवानी गरिरहेको छ । गत साउन ४ गतेदेखि हालसम्म ४ वटा कार्गोरेल आइसकेका छन् । यो सकारात्मक सन्देशका बीच कार्गोरेल आएसँगै सामान अनलोड गर्ने यार्ड भने भत्केर खत्तम भइसकेको छ ।
यदि यसको समयमै मर्मत भएन भने कार्गोरेलबाट सामान ढुवानी रोकिन सक्छ । कारण, धेरै वजन भएको वस्तु अनलोड गर्नका लागि त्यसको बेस बलियो हुनुपर्छ । किनकी कार्गोबाट कन्टेनर अनलोड गर्नका लागि रिच स्टेकर (भारी क्षमताको क्रेन) प्रयोग हुन्छ । अनलोड गर्दा ७० टन वजनको भार जमिनमा पर्दछ । त्यहि भएर कमजोर संरचना भएको यार्डमा चार पटक कार्गो आएर अनलोड गर्दा नै भत्किएर भद्रगोल भएको छ । यार्ड र अन्य संरचना काम नलाग्ने भइसक्दा पनि मर्मत गर्ने विषयमा को जिम्मेवार हुने भन्ने कुरा दुई निकायबीच हेराहेर भएको छ । यदि ढिला मर्मत भएमा कारण एनसीवाई (नेपाल कस्टम यार्ड)–मा कुनै पनि बेला कार्गोरेलको आगमन बन्द हुने देखिएको छ ।
एनसीवाईसित सम्बन्धित दुई सरकारी निकाय नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र रेलवे बोर्ड नेपाल दुबै यार्ड र अन्य संरचनाको मरम्मत सम्भारमा आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छिरहेका हुन् । यसका कारण एनसीवार्ईको मरम्मत सम्भार कसले गर्ने र यसको भविष्य के हुने भन्ने विषयमा अन्यौल देखिएको हो । रेलवेमा बनाइएको कालोपत्रेको यार्ड भत्किएर २ फिट सम्मका खाल्डा छन् । एनसीवाईमा पहिलो पटक २०८० जेठ १८ मा कार्गोरेल आइपुगेको थियो । त्यसपछि नआएका कारण दोस्रोपटक ३ वर्ष लाग्यो । गत साउन ४ गते बल्ल दोस्रो कार्गोरेल आयो । यसपछि लगातार ३ वटा आइसकेका छन् ।
एनसीवाईमा कन्टेनर राख्ने यार्ड, ब्यागेज कार्गो (बोरामा आएका सामग्री) राख्ने प्लेटफर्म र एनसीवाईदेखि भन्सार कार्यालयस्थित आइसिपीसम्म पुग्ने बाटो तीन वटै संरचना भत्किसकेका हुन् । यसको मर्मत चाँहि भारतले नै गरिदिने हो की नेपालका दुई सम्बन्धित कार्यालयले भन्ने अन्यौल देखिएको ।
कार्गोरेलमा आएका भरी कन्टेनरलाई ७० टन क्षमताको रिच स्टेकर (भारी क्षमताको क्रेन)–ले उतारेर यार्डमा राख्छ । कन्टेनर यार्डमा खप्टेर राख्ता एकै ठाउँमा १ सय टन सम्मको लोड पर्छ । तर भारतीय पक्षले बनाइदिएको यार्डको भारवहन क्षमता अत्यन्तै कम र कमजोर देखिएको छ ।
यार्डमा कतै २ फिटसम्म खाल्डो परेर पानी जमेको छ । कतै रिच स्टेकर राख्नै नसक्ने गरी खाल्टा परेको छ । यसका कारण अत्यन्त जोखिममा काम गर्नुपरेको सम्बन्धित पक्षले जनाएको छ ।
विराटनगरको आइसिपी र एनसीवाईमा कार्गो ह्यान्डलिङको ठेक्का लिएको ट्रान्स नेपाल टीआरएस लोजीपार्कका प्रमुख व्यवस्थापन लक्ष्मी सुब्बाले बारम्बार आग्रह गर्दा समेत मर्मत नभएको गुनासो गरेका छन् । सुब्बाले भारतीय पक्षले भर्खर पुरेको माटोलाई रोलर नलगाई त्यसैमाथि अलकत्रा हालेर कालोपत्रेको यार्ड बनाएको आरोप लगाएका छन् । कालोपत्रेका लागि प्रयोग गरिएको बिटुमिनको गुणस्तर पनि खराब देखिएको छ । जबकि कार्गोका लागि यार्ड बनाउँदा तीन फिट तलबाट आरसीसी गरेर माथि सिमेन्टेड वा कालोपत्रे जे गरे पनि हुन्छ । यही कमजोर सामग्री र निर्माणका कारण एनसीवाईको ८०० मिटरको यार्ड कामनलाग्ने भएको छ ।
त्यसैगरी रेलकार्गोबाट बोरामा लोड भएर आएको कार्गो हावापानीबाट खराब हुने प्रकारको हुन्छ । यसलाई ब्यागेज कार्गो भनिन्छ । तर ब्यागेज कार्गोलाई उतारेर सुरक्षित राख्न प्लेटफर्ममा छानो बनाइएको छैन । एनसीवाईमा नुन, मल, चिनी, खाद्यान्न, स्पन्ज आइरन, इन्डस्ट्रियल केमिकल, चुना लगायतका वस्तु ब्यागेज कार्गोअन्तर्गत आउन सक्छन् ।एकातिर प्लेटफर्ममा सेड बनाइएको छैन, अर्कातिर भारतले बनाइदिएको प्लेटफर्म पनि भत्किन र भास्सिन सुरु भइसकेको छ । प्लेटफर्ममा लगाइएका ब्लक उक्किइसकेका छन् । त्यसैले ब्यागेज कार्गो आउन नसकेको हो ।
भारतीय ठेकेदारले निर्माणमा तल्लो गुणस्तरको काम गरेको हुँदा यहाँका संरचना भास्सिन र भत्कन थालेको सरोकारवालाको बुझाइ छ । एनसीवाईबाट आइसीपीसम्म पुग्ने ३० मिटरका २ वटा सडक छन् । दुबै सडक २ फिटसम्म भास्सिइसकेका छन् । सडक किनारमा सडकलाई टेवा दिन पुरिएको माटो बग्न थालेको छ । चार पटक रेल आउँदै दुबै सडक र सडकका किनारा जीर्ण भएका छन् । एनसीवाईमा बनाइएको ब्रिज (पुल)–ले पनि कार्गो अनलोड र ह्यान्डलिङ्गमा वाधा गरेको भनाई छ ।
ब्रिजको ठिक तलतिर कार्गोरेल हुन्छ । यस ठाउँमा रीच स्टेकर चलाएर रेलबाट कन्टेनर उतार्न र ब्रिजको तलबाट रीच स्टेकर हिँडाउन गाह्रो भएको हो । त्यसैले कार्गोरेल संचालन गर्ने हो भने यस ब्रिजको काम छैन । भारतको सीमावर्ती बथनाहादेखि मोरङको कटहरीसम्मको रेलमार्ग भारत सरकारको ठेक्कामा भारतीय निर्माण कम्पनी इरकोनले गरेको हो । यही रेलमार्ग अन्तर्गत एनसीवाई पर्छ । इरकोन भारतीय रेलवे अन्तर्गतकै निर्माण कम्पनी हो । यसको पूरा नाम इन्डियन रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड हो । सामान्यतया इरकोनले गरेको काम गुणस्तरीय हुने विश्वास गरिन्छ । तर इरकोनले निर्माण गरेका एनसीवाईका संरचना पूर्ण प्रयोगमा नआउँदै भत्किइसकेका छन् ।