विराटनगरमा सामान खरिद, बिल जरुर, व्यवसायी भन्छन्- ‘पहिलाभन्दा धेरैले माग्न थाले’

<span class='c1'>विराटनगरमा सामान खरिद, बिल जरुर, व्यवसायी</span> <span class='c2'>भन्छन्- ‘पहिलाभन्दा धेरैले माग्न थाले’</span>

सोनु साह
विराटनगर । विराटनगरमा वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने ग्राहकको संख्या पछिल्लो समय बढ्दै गएको व्यवसायीहरूले बताएका छन्। नेपाल सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउन सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’पछि ग्राहकमा बिलप्रतिको चासो बढेको व्यवसायीहरूको भनाइ छ।

विराटनगरका व्यवसायी विनय चौधरीका अनुसार कार्यक्रम लागू भएपछि पसलमा बिल माग्ने ग्राहकको संख्या पहिलेको तुलनामा बढेको छ। उनका अनुसार ग्राहकलाई बिल उपलब्ध गराउने अभ्यासले व्यवसायी, उपभोक्ता र सरकार तीनै पक्षलाई फाइदा पुग्नेछ। “कार्यक्रम लागू भएपछि ग्राहकहरूले बिल माग्न थालेका छन्। यसले व्यवसायमा पारदर्शिता बढाउनुका साथै सरकारको राजस्व संकलनमा समेत सहयोग पुग्छ,” चौधरीले भने।

त्यस्तै, विराटनगरका व्यवसायी राजीव पालले सीमावर्ती क्षेत्र जोगबनीका कारण विराटनगरको व्यापार प्रभावित भइरहेको बताए। भारतीय बजारमा गएर सामान खरिद गर्ने प्रवृत्तिका कारण स्थानीय व्यवसायीले अपेक्षाअनुसार कारोबार गर्न नसकेको उनको भनाइ छ। सरकारले ल्याएको करदाता प्रोत्साहन कार्यक्रमले स्थानीय बजारमा व्यापार बढाउन सहयोग पुग्ने आशा रहेको पालले बताए। उनले आफ्नो पसलमा पहिलेदेखि नै ग्राहकलाई बिल दिने गरेको र अहिले ग्राहकहरूले बिलप्रति थप चासो देखाउन थालेको बताए।

जयशंकर जेनरल स्टोरका सञ्चालक बालकिशोर देवले आफ्नो ३५ वर्षको व्यावसायिक अनुभवमा पछिल्लो समय ग्राहकमा बिलप्रतिको चासो उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार पहिले पनि केही ग्राहकले बिल माग्ने गरे पनि अहिले अधिकांश ग्राहकले बिलका विषयमा चासो राख्न थालेका छन्।

“३५ वर्षको व्यावसायिक अनुभवमा पहिलोपटक सरकारले व्यापार व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कार्यक्रम ल्याएको देखेको छु। ग्राहक र व्यवसायी दुवैको हितमा ल्याइएको यो कार्यक्रम स्वागतयोग्य छ,” देवले भने। महिला व्यवसायी कविता बस्नेतका अनुसार आधुनिक प्रविधिको प्रयोग बढेसँगै ग्राहकहरू अनलाइन माध्यमबाट भुक्तानी गर्न थालेका छन्। अनलाइन कारोबार गर्दा बिल तथा कारोबारको प्रक्रियाबारे ग्राहक आफैँ जानकार हुने भएकाले बिलप्रतिको चासो पनि बढेको उनको भनाइ छ।

“ग्राहकले बिल मागेको अवस्थामा हामीले बिल उपलब्ध गराउँदै आएका छौँ। पछिल्लो समय अनलाइन कारोबार गर्ने ग्राहकको संख्या पनि बढेको छ,” बस्नेतले भनिन्। विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले सरकारले व्यापार व्यवसायको उत्थान र प्रोत्साहनका लागि ल्याएको कार्यक्रमले बजारमा सकारात्मक प्रभाव पार्न सक्ने बताए। उनका अनुसार पछिल्लो समय विराटनगरमा खरिदारी गर्ने ग्राहकको संख्या बढेको र बिल माग्ने प्रवृत्ति पनि विस्तार हुँदै गएको छ।

उनले पुरस्कार प्राप्त गर्न सकिने अपेक्षाका कारण पनि ग्राहकले बिल माग्ने गरेको बताए। तर कार्यक्रमको मुख्य प्रभाव उपभोक्ता र व्यवसायी दुवैमा पारदर्शी कारोबारको अभ्यास विकास गर्नु रहेको उनको भनाइ छ। सरकारले राजस्व चुहावट नियन्त्रण, अवैध बिल प्रणालीलाई न्यूनीकरण तथा कारोबारमा पारदर्शिता कायम गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको हो। कार्यक्रमले उपभोक्तालाई खरिदको प्रमाणका रूपमा बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई पनि औपचारिक र पारदर्शी कारोबारतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्