विराटनगर । विराटनगरमा नेपाली नागरिकको नाममा चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार गरिरहेको फेला परेपछि अर्काएकजना समेत पक्राउ परेका छन् । विराटनगर–२ मा रहेको एभरपिक सप्लायर्समा गरिएको अनुगमनका क्रममा चिनिया नागरिक लि जोसिज्याकलाई नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाउने तयारी थालिएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसल काठमाण्डौं ३२ जडिबुटी राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको भेटिएको छ । व्यापार भने चिनियाँ नागरिक लि जोसिज्याकले गर्दै आएका छन् ।
अनुगमन टोलीले पसल सञ्चालकलाई कस्मेटिक तथा घरायसी सामग्रीको सम्पूर्ण खरिद बिल उपलब्ध गराउन निर्देशन दिएको छ। सामानको खरिद स्रोत, कारोबार तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजातको समेत अध्ययन भइरहेको झाले बताए। चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको छ । यस अगाडी समेत सेन्टल मलभित्र सञ्चालित योनो मार्टमा चिनिया लगानी देखिएको थियो । व्यापार चिनियाले गरेपनि व्यवसाय भने नेपाली नागरिकको नाममा देखिएको थियो ।