सोनु साह,
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेज अफ ल विराटनगरका विद्यार्थीले कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर एक महिने कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन्।

पूर्वाञ्चल विश्वविद्यालय कानुन संकाय डिनको कार्यालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीच भएको सम्झौताअनुसार सञ्चालन गरिएको ‘क्लिनिकल कम्युनिटी लिगल एजुकेसन’ कार्यक्रममा कलेज अफ लमा चौथो वर्षमा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए।


कार्यक्रमअन्तर्गत कोशी र मधेश प्रदेशका १२ जिल्लामा विद्यार्थीलाई समूह बनाएर करिब २५ दिनका लागि परिचालन गरिएको थियो। विशेषगरी विपन्न, पिछडिएका तथा कानुनी ज्ञानको पहुँच कम भएका समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको कलेज अफ लका कलेज प्रमुख दीपक खतिवडाले जानकारी दिए।
उनका अनुसार ५५ जना विद्यार्थीलाई १५ समूहमा विभाजन गरी विभिन्न स्थानीय तहसँगको समन्वयमा समुदाय, टोल तथा बस्तीमा पुगेर कानुनी सचेतना प्रदान गरिएको थियो। १५ वटा समूहले विभिन्न स्थानमा पुगेर करिब ८ हजार व्यक्तिलाई कानुनी ज्ञान तथा सचेतना प्रदान गरेको खतिवडाले बताए।


विद्यार्थीहरूले स्थानीय तहको सहयोगमा समुदायमा रहेका कानुनी तथा सामाजिक समस्याबारे जानकारी लिनुका साथै नागरिकलाई कानुनी अधिकार र न्यायमा पहुँचका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा घरेलु हिंसा, महिलामाथि हुने विभिन्न प्रकारका हिंसा तथा अपराध, बालविवाह, दाइजो प्रथा लगायत सामाजिक विकृति तथा अपराध न्यूनीकरणका विषयमा समुदायलाई सचेत गराइएको थियो। साथै, हिंसामा परेका तथा अन्यायमा परेका व्यक्तिले न्यायका लागि सम्बन्धित निकाय तथा अदालतसम्म कसरी पुग्ने, कानुनी प्रक्रिया के हुन्छ र उपलब्ध कानुनी सेवाको प्रयोग कसरी गर्ने भन्ने विषयमा समेत विद्यार्थीले जानकारी दिएका थिए।


खतिवडाका अनुसार कानुनी तथा शैक्षिक पहुँच कम भएका कतिपय समुदायमा विभिन्न प्रकारका हिंसा र अपराधका घटना बाहिर नआउने अवस्था रहेकाले कार्यक्रमले त्यस्ता विषयमा समुदायलाई सचेत गराउन सहयोग गरेको छ।
उनले ‘क्लिनिकल कम्युनिटी लिगल एजुकेसन’ कार्यक्रम विद्यार्थीको व्यवहारिक सिकाइसँगै समुदायका लागि समेत उपयोगी भएको बताए। उनका अनुसार यूएनडीपीको सहकार्यमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी यस्तो कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ।