असाेज १६ , विराटनगर
रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेवको परिवार यतिबेला एकपछि अर्को समस्याले थिचिएको छ। उमेरले वृद्ध भइसकेका महेन्द्र र उनकी श्रीमती सावित्री देवी ऋषिदेव आफ्नै सन्तानबाट टाढिएका छन् । बर्षेदेखि बस्दै आएको घरसमेत भत्काइएपछि परिवारको दैनिकी थप कठिन बन्दै गएको हाे। महेन्द्रका दुई छोरा केशि कुमार ऋषिदेव र दीपचन्द ऋषिदेव करिब १५ वर्षअघि रोजगारीको सिलसिलामा भारत गएका थिए। भारत गएपछि दुवै छोरा अहिलेसम्म घर फर्किएका छैनन्।
लामो समयदेखि छोराहरूले फोनसमेत नगरेको महेन्द्रले बताए । वृद्ध अवस्थामा सहारा बन्नुपर्ने छोराहरू सम्पर्कविहीन भएपछि आफूहरू एक्लै जीवन गुजार्न बाध्य भएका छन । महेन्द्रकी जेठी छोरी राधा देवी ऋषिदेव पनि रोजगारीको सिलसिलामा अन्यत्र छिन्। उनका श्रीमान पनि करिब दुई वर्षअघि भारतको पञ्जाबमा मृत्यु भएपछि उनका पाँच छोरी र एक छोरा अहिले महेन्द्रकै काँधमा जिम्मेवारी लिएका छन्।
वृद्धावस्थामा रहेका महेन्द्रले आफ्ना नातिनातिनाको पालनपोषणसँगै उनीहरूको शिक्षाको जिम्मेवारी समेत सम्हालिरहेका छन्। उनका नातिनी रेणु ऋषिदेव महालक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ८ आमगाछिमा सोनु ऋषिदेव कक्षा ३ मा अध्ययनरत छन्।
अन्य नातिनातिना साना भएकाले घरमै रहने गरेको महेन्द्रले बताए। उनकी कान्छी छोरी रुकमणि ऋषिदेवको विवाह भइसकेको छ। उनी अन्यत्र बस्दै आए पनि समय–समयमा बुवा आमाको हेरचाह गर्दै आएको महेन्द्रले बताए। रंगेली ९ धनजुवामा ५० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको उक्त ठाउँमा देवीस्थानको करिब १३ घुर ऐलानी जग्गामा घर बनाएर बस्दै आएका थिए। सोही स्थानमा ऋषिदेव समुदायको दिनाभद्री मन्दिर निर्माण गर्ने योजना अघि बढेपछि परिवारलाई उक्त स्थान खाली गर्न आग्रह गरिएको थियो। स्थानीयस्तरबाट पटक–पटक आग्रह गरिएको भए पनि घर नहटाएपछि नगरपालिकाले डोजर प्रयोग गरी घर भत्काएको रंगेली ९ का वडा अध्यक्ष चुडामणि रेग्मीले बताए । रेग्मीका अनुसार महेन्द्र ऋषिदेवलाई करिब दुई वर्षदेखि पटक–पटक उक्त स्थान खाली गर्न आग्रह गरिँदै आएको थियो। तर घर नहटाएपछि अन्ततः डोजर प्रयोग गर्नुपरेको उनको भनाइ छ।
वडा अध्यक्ष रेग्मीका अनुसार उक्त स्थानमा दिनाभद्री मन्दिर निर्माणका लागि स्थानीयस्तरमा करिब ६० हजार रुपैयाँ रकम संकलन भइसकेको छ। सोही रकमबाट मन्दिर निर्माणको काम सुरु गर्ने उद्देश्यले देवीस्थानको जग्गा खाली गराइएको उनले बताए। आफ्नै जग्गा नभएको र नियमित आम्दानीको स्रोतसमेत नभएका कारण परिवारको अवस्था झन् कठिन बनेको छ। महेन्द्र सामान्य ज्यालामजदुरी गरेर परिवार चलाउँदै आएका छन्। तर अहिले गाउँघरमै काम पाउन मुस्किल भएपछि दैनिक गुजारा चलाउनसमेत समस्या भएको उनले बताए।
“घर गएपछि कहाँ बस्ने भन्ने समस्या भयो। अहिले अर्काको जग्गामा बसेका छौँ। काम पाए मजदुरी गर्छु, काम नपाए घरमा चुलो बल्नसमेत समस्या हने गरेको बताए । वृद्ध दम्पतीसहित आठ जनाको परिवारको जिम्मेवारी उनको काँधमा रहेको र विद्यालय जाने बालबालिका पनि छन्। चाडपर्व नजिकिँदै गर्दा बालबालिकाका लागि आवश्यक कपडा, शैक्षिक सामग्री तथा दैनिक खानपानको व्यवस्था गर्नसमेत समस्या भइरहेको परिवारले जनाएको छ।
दिनाभद्री मन्दिर निर्माणका लागि ऐलानी जग्गा खाली गराउने निर्णय स्थानीय धार्मिक तथा सामुदायिक संग लामो समयदेखि त्यही ठाउँमा बस्दै आएको परिवारलाई घरबाट हटाएपछि उनीहरूको वैकल्पिक बसोबास र जीविकोपार्जनको अवस्था थप समस्या हुन थालेको छ। महेन्द्रको परिवार अहिले तत्काल खाद्यान्न, लत्ताकपडा, बालबालिकाको शैक्षिक सामग्री र सुरक्षित बसोबासको आवश्यकता रहेको अवस्थामा छ। घर गुमेको पीडा एकातिर छ, वृद्धावस्थामा आफ्नै सन्तानको सहारा नपाउनुको पीडा हुदै गर्दे पाँच नातिनी र एक नातिको जिम्मेवारी बोकेका महेन्द्रको परिवार अहिले घरमा आर्थिक तथा खाद्यान्न सहयोगी हातको प्रतीक्षामा रहेका छन ।