विराटनगर असोज १९ ,
यस वर्षको बडादसैंलाई लक्षित गर्दै आयोजना हुन गइरहेको 'विराट ट्रेड फेयर २०८३' मा देशका चर्चित तथा लोकप्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ। व्यापार प्रवर्द्धनसँगै मेलालाई थप मनोरञ्जनात्मक बनाउन असोज २३ देखि २९ गतेसम्म दैनिक रूपमा शीर्ष कलाकारहरू मञ्चमा उत्रिने तालिका तय भएको छ।
आयोजकका अनुसार सांगीतिक कार्यक्रमको पहिलो दिन असोज २३ गते गायक कमल खत्रीले प्रस्तुति दिनेछन्। त्यसैगरी असोज २४ गते गायिका अश्मिता अधिकारी, असोज २५ गते गायक महेश काफ्ले तथा असोज २६ गते गायक तथा संगीतकार राजनराज शिवाकोटीको प्रस्तुति रहनेछ।
त्यस्तै, असोज २७ गते गायिका अन्जिला रेग्मी, असोज २८ गते गायिका एलिना चौहान र अन्तिम दिन असोज २९ गते चर्चित गायिका रचना रिमालले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाउनेछन्।
व्यापार, उद्यमशीलता तथा मनोरञ्जनको संगमका रूपमा सञ्चालन हुने यस मेलाले यसपटकको दसैंको माहोललाई थप उल्लासमय बनाउने आयोजकको विश्वास छ। विराट ब्यापार संघको आयोजनामा विराटनगरको जैन भवनमा आयोजना भैरहेको छ ।