नेपालीहरूको महान् पर्व दशैँ सुरु भएसँगै हिमालदेखि तराई–मधेशसम्म उत्साह र उमङ्ग छाएको छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले दशैँ मनाउने परम्परा पनि समुदाय र क्षेत्रअनुसार फरक–फरक छन्। कतै टीका र जमरालाई विशेष महत्त्व दिइन्छ भने कतै देवी दुर्गाको आराधना, व्रत, पूजापाठ र सांस्कृतिक नृत्यले दशैँको रौनक थप्छन्।
आज हामी विशेषगरी तराई–मधेशमा दशैँ कसरी मनाइन्छ भन्ने विषयमा चर्चा गर्दै छौँ। मधेशमा दशैँको चर्चा गर्दा सबैभन्दा पहिले मिथिलाको मौलिक लोकसंस्कृतिका रूपमा परिचित झिझिया नाचको कुरा गर्न आवश्यक हुन्छ।
झिझिया नाच : मिथिलाको आस्था र संस्कृतिको प्रतीक
मिथिलाको धार्मिक आस्था, लोकविश्वास र सांस्कृतिक मौलिकताको प्रतीकका रूपमा परिचित झिझिया नाच दशैँको आगमनसँगै मिथिलाञ्चलका गाउँबस्तीमा देखिन थाल्छ। टाउकोमा प्वाल पारिएको माटोको घैँटो राखेर त्यसमा दीप प्रज्वलन गर्दै सामूहिक रूपमा नाचिने यो परम्परा मिथिलाको विशिष्ट लोकसंस्कृतिका रूपमा स्थापित छ। विशेषगरी मधेश प्रदेशका विभिन्न जिल्लामा यसको विशेष महत्त्व रहेको छ।
झिझिया नाच मनोरञ्जनको माध्यम मात्र होइन, देवी दुर्गाप्रतिको श्रद्धा, बालबालिका तथा परिवारको सुरक्षा र समाजको सुख–शान्तिको कामनासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परा पनि हो। नेपाल र भारतको मिथिला क्षेत्रमा प्रचलित यस नाचले मैथिली भाषा, लोकगीत र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
झिझिया नाचको सुरुवातबारे विभिन्न कथन र जनश्रुति प्रचलित छन्। यसको उत्पत्तिबारे स्पष्ट ऐतिहासिक अभिलेख उपलब्ध नभए पनि स्थानीय लोककथा र धार्मिक मान्यताका आधारमा यसलाई मिथिलाको पुरानो लोकपरम्पराका रूपमा लिने गरिन्छ।
विशेषगरी शारदीय नवरात्रका बेला देवी भगवतीको आराधना गर्दै दुष्ट शक्ति तथा अनिष्टबाट परिवार र समाजलाई जोगाउने कामनासहित यो नाच प्रदर्शन गर्ने परम्परा छ। झिझियासँग जोडिएका लोकप्रिय कथामध्ये राजा बलरुचिसँग सम्बन्धित प्रसङ्ग पनि एक हो।

झिझियाका गीतमा देवीको महिमा, परिवारको कल्याण, बालबालिकाको सुरक्षा र गाउँको सुख–समृद्धिको कामना व्यक्त गरिन्छ। मैथिली भाषामा गाइने यी गीतले स्थानीय भाषिक मौलिकता र मौखिक साहित्यको संरक्षणमा योगदान पुर्याएका छन्।

पछिल्लो समय झिझिया नाच गाउँका घरआँगनमा मात्र सीमित छैन। विद्यालय, सांस्कृतिक महोत्सव, सार्वजनिक कार्यक्रम र विभिन्न मञ्चमा समेत यसको प्रस्तुति हुन थालेको छ। यसले मिथिलाको लोकसंस्कृतिलाई व्यापक दर्शकमाझ पुर्याउन सहयोग गरे पनि मौलिक गीत, परम्परागत लय र नृत्यशैली संरक्षण गर्नु चुनौतीपूर्ण छ।
त्यसैले झिझिया नाचलाई दशैँमा प्रस्तुत गरिने मनोरञ्जनात्मक कार्यक्रमका रूपमा मात्र नभई धार्मिक आस्था, महिला सहभागिता, मैथिली भाषा र ऐतिहासिक लोकस्मृतिसँग जोडिएको सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नु आवश्यक छ। आधुनिक समयअनुसार यसको प्रचारप्रसार गर्दै मौलिकता कायम राख्न सके झिझिया आगामी पुस्ताका लागि समेत मिथिलाको गौरवपूर्ण पहिचानका रूपमा जीवित रहनेछ।
मधेशमा दशैँ मनाउने आफ्नै परम्परा
नेपालका विभिन्न समुदायमा दशैँ मनाउने परम्परा फरक–फरक छन्। कतिपय परिवारमा घटस्थापनादेखि कलश स्थापना गरेर व्रत बस्ने, पूजापाठ गर्ने र देवी दुर्गाको आराधनामा समय बिताउने चलन छ भने कतिपय समुदायमा खानपान, गीतसङ्गीत र सामूहिक जमघटका माध्यमबाट चाडपर्व मनाउने परम्परा पनि पाइन्छ। धार्मिक आस्था र सांस्कृतिक विविधताका यी रूप नेपाली समाजका विशेषता हुन्।

हिमाल र पहाडी क्षेत्रमा दशैँको मुख्य आकर्षण विजयादशमीको टीका र जमरा मानिन्छ। तराई–मधेशमा भने नवरात्र सुरु भएदेखि नै देवी दुर्गाको पूजाआराधनालाई विशेष महत्त्व दिइन्छ। विशेषगरी धार्मिक विधि पालना गर्ने परिवारमा घटस्थापनादेखि नै पूजापाठ सुरु हुन्छ। जमरा राखेको दिनदेखि नवरात्रको पूजा सम्पन्न नहुँदासम्म घरमा माछामासु प्रवेश नगराउने परम्परा पनि छ।
नवरात्रभर व्रत बस्ने महिला तथा पुरुषले आफ्नो धार्मिक आस्थाअनुसार फलफूल खाएर वा अन्य निर्धारित विधिबाट उपवास गर्ने गर्छन्। यस अवधिमा घरघरमा पूजापाठ गरिनुका साथै मठमन्दिरमा भक्तजनको चहलपहल बढ्छ।

मधेशका विभिन्न स्थानमा विशेषगरी सप्तमीदेखि दुर्गापूजाको रौनक अझ बढ्ने गर्छ। यस दिन दुर्गा देवीको प्रतिमामा नेत्र अनावरण गर्ने तथा महिलाले देवी भगवतीको खोइँछ भर्ने परम्परा पनि प्रचलित छ। मनोकामना पूरा होस् भन्ने विश्वासका साथ भाकल गरेका तथा श्रद्धालु महिलाहरू देवीको खोइँछ भर्न मन्दिर पुग्ने गर्छन्। कतिपय स्थानमा सप्तमी र अष्टमी दुवै दिन खोइँछ भर्ने चलन छ।
शक्तिपीठमा भक्तजनको घुइँचो
मधेशमा दशैँको अर्को प्रमुख आकर्षण शक्तिपीठहरूमा हुने पूजाआराधना हो। नवरात्रका अवसरमा विभिन्न शक्तिपीठमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ। विशेषगरी अष्टमीका दिन कतिपय शक्तिपीठमा परम्पराअनुसार बलि प्रदान गरिन्छ भने अन्य स्थानमा लड्डु तथा विभिन्न परिकारको भोग लगाएर देवीको पूजा गरिन्छ।
मधेशका चर्चित धार्मिक स्थलमध्ये सप्तरीको छिन्नमस्ता देवी मन्दिर, धनुषाको जनकपुरस्थित राजदेवी मन्दिर, महोत्तरीको जलेश्वरस्थित संसारी माई मन्दिर र पर्साको वीरगञ्जस्थित गहवामाई मन्दिर प्रमुख छन्। यी शक्तिपीठहरू धार्मिक आस्था र ऐतिहासिक महत्त्वका दृष्टिले परिचित छन्।

दशैँका बेला यी मन्दिरमा नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु आउने गर्छन्। भक्तजनले देवीको दर्शन गर्ने, पूजाआराधना गर्ने र आफ्नो मनोकामना पूरा होस् भन्ने कामनासहित धार्मिक विधि पूरा गर्ने गर्छन्।
यी मन्दिरहरू मधेशको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका महत्त्वपूर्ण धरोहर हुन्। यदि तपाईं पनि मधेशको धार्मिक र सांस्कृतिक परम्परालाई नजिकबाट बुझ्न चाहनुहुन्छ भने दशैँका बेला यहाँका शक्तिपीठको दर्शन गर्नु एउटा राम्रो अवसर हुन सक्छ।
गाउँगाउँमा दुर्गापूजा, मेला र सांस्कृतिक कार्यक्रम
मधेशमा दशैँको रौनक ठूला मन्दिरमा मात्र सीमित हुँदैन। विभिन्न गाउँ तथा बस्तीमा पण्डाल निर्माण गरेर दुर्गा देवीको प्रतिमा स्थापना गर्ने र सामूहिक रूपमा पूजाआराधना गर्ने चलन छ। गाउँका बासिन्दा मिलेर आयोजना गर्ने यस्ता पूजाले सामाजिक सद्भाव, सामूहिक सहभागिता र सांस्कृतिक एकतालाई समेत बलियो बनाउँछन्।
नवरात्रका दस दिन मधेशका धेरै स्थान भक्तिमय वातावरणमा रमाउँछन्। मन्दिर तथा पूजास्थलमा आरती, भजनकीर्तन, झाँकी, नाचगान र धार्मिक कार्यक्रम आयोजना गरिन्छन्। कतिपय स्थानमा दशैँको अवसरमा मेला पनि लाग्ने गर्छ। यसले धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र सामाजिक गतिविधिलाई पनि जीवन्त बनाउँछ।
विजयादशमीका दिन व्रत बसेका कतिपय श्रद्धालुले परम्पराअनुसार नवकन्यालाई भोजन गराउने, आशीर्वाद ग्रहण गर्ने र त्यसपछि प्रसाद ग्रहण गर्ने चलन छ। यसै अवसरमा विभिन्न स्थानमा स्थापना गरिएका देवीका प्रतिमाको विधिपूर्वक विसर्जन गरिन्छ।
प्रतिमा विसर्जनअघि आयोजना हुने मेला, नाचगान, झाँकी, कीर्तन र आरतीले दशैँको उत्सवलाई थप उल्लासमय बनाउँछन्। यसरी धार्मिक अनुष्ठानदेखि सामूहिक सांस्कृतिक कार्यक्रमसम्म मधेशको दशैँले विविध परम्परालाई समेटेको हुन्छ।
धार्मिक आस्था र सांस्कृतिक विविधताको पर्व
समग्रमा, मधेशको दशैँ देवी दुर्गाको आराधना, व्रत, पूजापाठ, शक्तिपीठको दर्शन, झिझिया नाच र सामूहिक सांस्कृतिक उत्सवको सुन्दर संयोजन हो। यहाँ दशैँ केवल टीका र जमरामा सीमित छैन, बरु पुस्तौँदेखि चल्दै आएका धार्मिक विश्वास, लोकपरम्परा, भाषा र सामुदायिक जीवनसँग गहिरो रूपमा जोडिएको छ।
नेपालको सांस्कृतिक विविधताभित्र मधेशको दशैँले छुट्टै पहिचान बोकेको छ। झिझिया नाचदेखि शक्तिपीठमा हुने पूजाआराधनासम्मका परम्पराले मधेशको मौलिकता झल्काउँछन्। यस्ता परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न सके मात्र हाम्रो सांस्कृतिक सम्पदा दीर्घकालसम्म जीवन्त रहन सक्छ।
त्यसैले दशैँलाई केवल चाडपर्वका रूपमा मात्र नभई एकअर्काको आस्था, संस्कृति र परम्परालाई बुझ्ने तथा सम्मान गर्ने अवसरका रूपमा पनि लिन आवश्यक छ।
- सोनु कु. साह