ध्यान र योगले बदलिँदै मोरङ कारागारका कैदीबन्दीको जीवनशैली

<span class='c1'>ध्यान र योगले बदलिँदै</span> <span class='c2'>मोरङ कारागारका कैदीबन्दीको जीवनशैली</span>

विराटनगर । पटक–पटक कैदीबन्दीको आन्दोलन, आर्थिक शोषण र त्रासको वातावरणका कारण चर्चामा रहने मोरङ कारागारमा अहिले ध्यान, योग र नैतिक शिक्षामार्फत सुधारको प्रयास थालिएको छ। कारागारका पुरुष तथा महिला ब्लक र बालसुधार गृहमा एक महिनादेखि दैनिक बिहान र साँझ आनापान ध्यान सञ्चालन भइरहेको छ। यसले कैदीबन्दी तथा बालबिज्याइँकर्तामा सकारात्मक सोच विकास र व्यवहार परिवर्तनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसमेत विभिन्न ब्लकमा पुगेर कैदीबन्दीसँगै ध्यानमा सहभागी हुँदै आउनुभएको छ। उहाँले कारागारलाई सजाय भोग्ने स्थानमा मात्र सीमित नराखी सुधार र पुनःस्थापनाको केन्द्र बनाउने उद्देश्य रहेको बताउनुभयो।

कारागारभित्र आर्थिक अनियमितता भएको सूचनापछि गत असारदेखि अनुसन्धान र हस्तक्षेप सुरु गरिएको प्रशासनले जनाएको छ। यसक्रममा पूर्वचौकीदार अभिषेक गिरीसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको थियो। अवरोध र तनावपछि ३७ जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो। प्रशासनका अनुसार खानतलासीका क्रममा फलामका रड र एक कोठाबाट १० लाख रुपैयाँ नगद बरामद भएको थियो।

अब कारागारमा २५ लाख रुपैयाँ लागतमा संरचना निर्माण गरी दशदिने विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी छ। आगामी कात्तिक अन्तिम सातादेखि एकपटकमा २४ जनालाई सहभागी गराउने योजना रहेको छ। ध्यान, योग र नैतिक शिक्षामार्फत कैदीबन्दीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई समाजमा पुनःस्थापित हुन सहयोग पुर्‍याउने प्रशासनको लक्ष्य छ।

मोरङ कारागारका ए ब्लकमा ५६७, बी ब्लकमा ५३१ र महिला ब्लकमा ११० जना कैदीबन्दी छन् । कारागार परिसरको बालसुधार गृहमा ६० जना र कञ्चनबारीस्थित बालसुधार गृहमा २०० जना बालबिज्याइँकर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्