इनरुवा, कात्तिक १३ गते
सुनसरीको देवागञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छलीका अवैध लत्ताकपडासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अन्दाजी मूल्य रु. ५ लाख ६० हजार बराबरको लत्ताकपडा र ढुवानीमा प्रयोग भएको मोटरसाइकल बरामद गरिएको हो।
मिति २०८३ कात्तिक १३ गते राति १२:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय देवागञ्जबाट खटिएको प्रहरी टोलीलाई देखेपछि भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकल चालकले लत्ताकपडा र सवारी साधन छाडी फरार भएका थिए।
प्रहरी टोलीले छाडी भागेको उक्त मोटरसाइकल र लत्ताकपडा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवागञ्जमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। साथै, फरार चालकको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।